बझाङ := बझाङको सदरमुकामनजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण भई त्यहाँ कार्यरत प्रहरीहरू त्रासै त्रासमा रात बिताउँदै आएका छन् ।
विमानस्थलको सुरक्षामा खटिएका प्रहरी बस्ने भवन जोखिममा रहेको र टिनले छाएको भवनभित्र बर्खाको भेल पस्दा प्रहरीलाई रात बिताउनै सकस हुने गरेको देवल विमानस्थलको सुरक्षामा खटिनुभएका प्रहरी नायव निरीक्षक सुन्दर सिंह धामीले बताउनुभयो । धामीले भन्नुभयो, ‘बर्खा लाग्नेबित्तिकै जस्ता चुहिने, तथा हावा लागेको बेला ढुंगा खस्ने डर छ । वर्षा आउँदा थाल कचौरा समातेर रातभर चुहिने ठाउँमा ड्युटी गर्नुपर्छ । कहिलेकाहीँ निदाएको बेला पानी परेपछि ओछ्यान नै भिजेको हुन्छ । तीन÷चार दिनसम्म लुगा सुक्दैनन् । पुरानो भएको भान्साघरको टिन छियाछिया छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । प्रहरीको बिजोग त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन् । पाखाबाट माटो, कुहिएको काठ उप्केर जिउमै खस्छ । दुःखका साथ बसेका छौँ ।’ एकतले भवन सामान्य वर्षा हुँदा पनि चुहिन्छ । पानी पर्न थाल्यो कि रातभर खाट सार्दै सुत्नुपर्छ । वर्षाको पानी ओछ्यानमा चुहिन्छ । बेलाबेला विषालु सर्प भित्रै आइपुग्छन् । त्यसैले प्रहरी राति निदाउन सक्दैनन्,’ उहाँले हिमालय टाइम्ससँग गुनासो गर्नुभयो ।
भवनभित्रको माथिबाट ढुंगा खस्ने डरले रातभरि जागा बस्नु परिरहेको प्रहरी जवान गोविन्द्र प्रसाद जोशीले पनि बताउनुभयो । जोशीले भन्नुभयो, ‘बाहिरतिरबाट वाल भत्केर टिनको वाल हालेको छ । बाँकी रहेको वाल पनि अब झ¥यो तब झ¥यो भएको छ । वर्षा हुँदा खानासमेत राम्ररी खान पाइँदैन । भान्सामा पानी भरिभराउ भएको हुन्छ । झ्याल नभएकाले गर्मीमा चौकीमा पस्नासाथ खलखल पसिना चुहिन थाल्छ । मुसाले प्रहरीको युनिफर्म काटिदिनु सामान्यजस्तै भइसकेको छ । हावाहुरी आउँदा घरसँगै उडाउने चिन्ता लाग्छ ।’
११ जना प्रहरीको भरमा विमानस्थल, पाँच वटा वडा र एक चेकपोष्ट
विमानस्थलमा कार्यरत प्रहरीलाई बाढी, पहिरो, सर्पको मात्र त्रास होइन । उनीहरूले क्षमताभन्दा दोब्बर काम गर्नुपर्ने अर्को समस्या पनि छ । प्रहरीले विमानस्थल, सिमखेत चेक पोष्ट र पाँच वटा वडा हेर्न पर्छ । जसका लागि जम्मा ११ जना मात्र प्रहरी छन् । देवल विमानस्थलमा रहेका ११ जना प्रहरीको टोलीले बाहुँलीगाड पारिबाहेक अरू पाँच वटै वडा हेर्नु परिरहेको छ । एकातर्फ विमानस्थलको ड्युटी, गर्नुपर्ने, अर्कातर्फ ५,६,७,८,९ वडा नम्बर र सबैभन्दा टाढा वडा नम्बर ८ बारिल, वडा नम्बर ५ को सुत्या भन्ने ठाउँमा जानुपर्ने । मोटरसाइकलमा डेढ÷दुई घण्टा वडाका गाउँहरूमा कतै झैझगडा भएमा विपद आइलागेमा जानुपर्ने बाध्यता रहेको छ । विमानस्थल सुरक्षाको लागि १५ जनाको दरबन्दी रहेको भए पनि हाल ११ जना कार्यरत छन् ।
त्यस्तै, विमानस्थलकै प्रहरीले नगरपालिकाको सिमाना तमैल बजारसम्म हेर्नुपर्ने बाध्यता रहेको देवल विमानस्थल सुरक्षा गार्डले जानकारी दिएको छ । सबैभन्दा त बर्खायाममा पानी परेको बेला ग्रामीण सडकमा गाडी नजाने र गाउँहरू छरिएकाले हिँडेर जानुपर्ने भएकाले तथा प्रहरी जनशक्ति कम तथा भौगोलिक विकटताका कारण सुरक्षा दिन कठिन हुने गरेको विमानस्थल सुरक्षा गार्डको लागि खटिएका प्रहरीले बताउने गरेका छन् ।
देवल विमानस्थल सुरक्षा समितिले विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरीहरूको जीर्ण भवनको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको र थप कुरा हालसम्म नआएको जानकारी दिएको छ ।
दरबन्दीअनुसार छैनन् प्रहरी
बझाङ जिल्लाभरिका लागि ३७४ जनाको दरबन्दी रहको भए पनि दरबन्दीअनुसारका प्रहरी छैनन् । ३७४ मध्ये अहिले ३४३ जना मात्र कार्यरत रहेकाले केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जनशक्ति कम र भूगोल तथा छरिएका बस्ती भएकाले सुरक्षा व्यवस्था मिलाउन कठिन देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो ।
खड्काले विमानस्थल सुरक्षाको लागि थप प्रहरी टोलीको व्यवस्थापन गरे पनि विमानस्थलमा बस्ने बास स्थानको उचित व्यवस्थापन नहुँदा प्रहरीको संख्या थप्न नसकेको र विमानस्थलमा उचित बासस्थानको व्यवस्था भएमा आफूहरूले विमानस्थलको थप सुरक्षाका लागि प्रहरीको संख्या थप्ने तथा जीर्ण रहेको भवनका बारेमा भने विमानस्थलले नै निर्माणका लागि पहल गर्ने बताउनुभयो ।




















