नेपाल एयरलाइन्समा दुबई (युएई) बाट २ सय ७० जना नेपाली स्वदेश फर्किए।

यूएई:= कोरोना महामारीको दोस्रो लहरका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि समस्यामा परेका नेपाली यात्रु बोकेर संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड विमान नेपाल फर्केको छ।

यूएईको दुबईबाट बुधबार दिउँसो पाँच नेपालीको शवसहित २ सय ७० जना नेपाली हरुलाई बोकेर नेपाल एयरलाइन्सको वाइड बडी जहाज काठमाण्डौ फर्किएको हो। बुधबारको उडानमा २ सय ३७ पुरुषसहित २८ जना महिला, ३ जना बालबालिका र २ जना शिशु गरी जम्मा २ सय ७० जना नेपाल फर्किएका हुन् ।

उडानमा विभिन्न कारणले यूएईमा ज्यान गुमाएका ५ जनाको शवसमेत लगिएको छ । यूएईमा ज्यान गुमाएका स्याङ्जाका लोकबहादुर मगर र रोशबहादुर आले, नवलपरासीका सोमबहादुर गुरुङ र खडकबहादुर थारु र सिन्धुपाल्चोकका साङ दोर्जे शेर्पाको शव नेपाल लगिएको नेपाल एयरलाइन्स यूएई शाखाले जनाएको छ ।

आज फर्किएका धेरै जसो यूएईमा जागिर गुमाएका, भिजिट भिसामा आएर यतै अड्किएका, करार अवधि सकिएका, अत्यावश्यक कामले नेपाल फर्कनु पर्ने व्यक्तिहरू, बिरामी एवं सुत्केरी महिला छन् ।

नेपाल एयरलाइन्सको अर्को उडान जुन ३० मा हुने नेपाल एयरलाइन्सको यूएई हेर्ने अधिकारिक एजेन्सी एन्टाका सजु पौलले जानकारी दिनुभयो । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि गएको वैशाख २३ गतेमध्ये रातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो ।