युरोकप फुटबल: फ्रान्स र पोर्चुगलको बराबर गोल, रोनाल्डोले बनाए कीर्तिमान।

एजेन्सी := युईएफए युरो कप अन्तर्गत हिजो राति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले २-२ को बराबरी खेले। जसमा फ्रान्सका करिम बेञ्जेमा र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले समान दुई/दुई गोल गरे। र, फ्रान्सविरुद्धको दुई गोलसँगै ३६ वर्षे रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सका फरवार्ड करिम बेन्जिमाले दुई दुई गोल गरेका  थिए। खेलको ३० मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेर पोर्चुगललाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी टाइममा बेन्जिमाले पेनाल्टीबाट नै बराबरी गोल फर्काए।

४७ मिनेटमा बेन्जिमाले गोल गर्दा फ्रान्स २-१ ले अघि रह्यो। ६० मिनेटमा रोनाल्डोले दोस्रो पटक पेनाल्टीबाट गोल गर्दा पोर्चुगलले खेल २-२ को बराबरीमा ल्यायो।

समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोको गोलसंख्या १०९ पुगेको छ। यो अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानका पूर्व स्ट्राइकर अलि डेइसँगको बराबरी हो।

यो संगै युरोकप – २०२० अन्तर्गत समूह ‘एफ’ बाट फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। यस्तै जर्मनी उपविजेता र साविक विजेता पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन्।