पत्रेखोलाको मुद्दा असारमा मात्रै उठ्छ, पुल निर्माण एकादेशको कथाजस्तै।

[ विवेक खड्का ] 

दाङ := तुलसीपुर-७ का विनोद नेपालीको बुधबार घोराहिको यात्रा तय भयो । तुलसीपुरबाट बिहान करिब ७ बजेतिर मोटरसाइलको यात्रामा हिँड्नुभएका उहाँ पत्रेखोलामा पुगेपछि केहीबेर रोकिनुप¥यो । खोलामा पानीको बहाव बढेको देखेपछि केही समय रोकिएर केही उपाय नलागेपछि खोला तर्ने विचार गर्नुभयो । खोलाको बीचमै मोटरसाइकल रोकियो । लामो प्रयासपछि मोटर साइकल त पार लगाएँ तर उहाँसँग भएको मोबाइललगायतका सामग्रीमा पानी पर्‍यो ।

‘घोराही जानैपर्ने भएका कारण पानी परिरहेकै बीचमा यात्रा तय गरेँ, तर खोलामा पुल नहुँदा निकै सास्ती भोग्नुप¥यो’ उहाँले हिमालय टाइम्सलाई भन्नुभयोे– ‘यो पुल बन्ने कुरा त हामीलाई एकादेशको कथाजस्तै लाग्न थालेको छ ।’ उहाँले भन्नुभयोे- ‘खै यो पत्रेखोलाको पुल कहिले निर्माण हुने हो ? जहिले पनि आधा निर्माणमै अलपत्र परेको हुन्छ, किन होला कसैको ध्यान पुग्न नसकेको।’

दंगीशरण-२ का विशाल चौधरले पनि बुधबार पत्रेखोलामा आएको बाढीका कारण मोटरसाइकल खोला पार गराउन १०० रुपैयाँ खर्च गर्नुभयोे । घोराहीबाट फर्किने बेलामा पनि फेरि १०० रुपैयाँ बुझाएर घर फर्कनुभयो । खोलामा पुल नहुँदा उहाँले खोलामा मोटरसाइकल पार लगाउनकै लागि दुई पटकमा २०० रुपैयाँ खर्चनुप¥यो । ‘घोराही तुलसीपुरको यात्रा गर्दा निकै सोच्नुपर्ने हुन्छ, हामीलाई यो दुःखकष्ट कहिलेसम्म होला कुन्नी?’ पत्रेखोला पुल निर्माण सुरु गरेको करिब एकदशक पुग्नै लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने पत्रेखोलामा पुल आर्थिक वर्ष ०७१÷०७२ देखि निर्माण सुरु भएको हो । तर, पुलले विभिन्न कारणले अझै पूर्णता पाउन सकेको छैन । तत्कालीन अवस्थामा पुलको डिजाइन नमिलेको भन्दै निर्माण रोकिएको थियो । पुलको दायाँ-बायाँ पिल्लर निर्माण हुने समयमा डिजाइन नमिलेको कारण देखाउँदै निर्माण हुन सकेको थिएन । पुल निर्माण रोकिएपछि नागरिकले सास्ती पाउँदै आएकोमा चालु वर्षको असोजमा मात्रै मन्त्रिपरिषद् बैठकबाट पुललाई यस वर्षभित्र पूर्णता दिने निर्णय भयो ।

अहिले पछिल्लो समय मन्त्रिपरिषद्को निर्णणपछि पुलको नयाँ डिजाइनअनुसार पुल निर्माणको काम सुरु भएको छ । पछिल्लो पटक पुलको निर्माण यसै चालु वर्षमा सक्नुपर्ने थियो तर फेरि यसवर्ष पनि कोरोना महामारीका कारण निर्माण अवधि लम्बिने निश्चित भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताउनुभयो ।

‘ठेकेदारले समयमै काम सम्पन्न गरेको भए यसवर्ष त सकिन्थ्यो, तीन महिनाको काम थियो तर अहिले पनि समयमा काम हुन सकेन्, अहिले त झन् वर्षा पनि सुरु भइसक्यो’ उहाँले भन्नुभयोे– ‘कोरोना महामारीका कारण सरकारले नै सम्झौता म्याद थप्ने भनिसकेकाले अब अर्को वर्ष जाने निश्चित भयो।’ विभिन्न कारणले ६ वर्षसम्म पिलर पनि ठडिन नसकेको अवस्थामा अब करिब अन्तिम चरणमा पुगेको तर यसै आर्थिक वर्षमा भने नसकिने बताउनुभयो ।

‘निर्माणको काम अन्तिम चरणमा पुगेको छ, वरपरको वाल बनाउनबाहेक अरू काम लगभग सकिएको छ, अबको केही दिनमा खोला पुल लगाउँछौँ र बाँकी खाल्डाखुल्डी पनि बनाउँछौँ ।’ उहाँले भन्नुभयो, ‘अवरोध सिर्जना नभएको भए तीन महिनामै हुने थियो ।’ ४० मिटर लम्बाइ र ११ मिटर चौडाइमा निर्माण हुने कार्यालय प्रमुख शाक्यले जानकारी दिनुभयो । खोलामा यसवर्ष पनि पुल नबन्दा नागरिकले सास्ती पाउन थालेका छन् । तर, खोलामा पुल बन्ने कुरो एकादेशको कथाजस्तै भएको छ । पुल निर्माणमा चासो दिनुपर्ने निकाय मौन हुँदा सर्वसाधारणले ज्यान जोखिममा राख्नुपरेको छ ।