काठमाडौं := पछिल्लो केही दिनदेखिको लगातारको वर्षाले विभिन्न ठाउँमा जनधनको क्षति भइरहेका बेला सिन्धुपाल्चोक पनि अछुतो रहन सकेन । सिन्धुपाल्चोकमा अन्यभन्दा बढी क्षति भएको छ । विशेषगरी मेलम्चीको बाढीको दृश्यले देश रोइरहेको बेला त्यहाँका बाढी प्रभावित स्थानीयलाई कलाकारहरूले सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
यसैबीच नायिका पूजा शर्मा र श्वेता खड्काले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि शुक्रबार सहयोग वितरण गर्ने तयारी गर्नुभएको छ । सिन्धुपाल्चोकमै जन्म भएर काठमाडौंमा कलाकारिता गरिरहनु भएका पूजा र श्वेताले सुख आफूलाई मात्र भएर पनि मन खुशी नहुने भन्दै अरूलाई दुःख पर्दा मन रुने कुरा उल्लेख गर्नुभएको छ ।
पुजाले आफू र साथीहरूको क्षमताले भ्याएसम्म केही सामान लिएर सिन्धुपाल्चोक जान लागेको उल्लेख गर्नुभएको छ । नायिका स्वेता पनि मेलम्चीको समस्या सबैको समस्या भएको भन्दै सहयोग वितरण गर्न जाने तयारी गरेको जानकारी दिनुभएको छ ।
श्वेताले विभिन्न सहयोगीको साथमा खाद्यान्न लिएर मेलम्ची जाने उल्लेख गर्नु भएको छ । श्वेताले विपद्को घडीमा सहयोगको पाइला अघि सारेको र हातेमालो गर्न सबैसँग अपिल गर्नुभएको छ । यस्तै चलचित्र निर्देशक मिलन चाम्स पनि ५० परिवारका लागि राहत लिएर सिन्धुपाल्चोक पुगिसक्नु भएको छ ।




















