मंगल ग्रहबाट चीनको झुरोङ यन्त्रले पठायो आकर्षक तस्वीर।

एजेन्सी := मंगल ग्रहमा अतवरण गरेको चीनको झुरोङ रोभरले केही आकर्षक तस्वीर पृथ्वीमा पठाएको छ । चिनियाँ झण्डा अंकित मंगल ग्रहको सतहमा गुडिरहेको झुरोङ रोभरले खिचेका तस्वीरहरू चाइना नेसनल स्पेस एड्मिनिस्ट्रेसन (सिएनएसए) ले सार्वजनिक गरेको हो ।

गत मेमा अवतरण गरेको उक्त रोभरले बेतारे क्यामेरामार्फत आफ्नो र सतहको सुन्दर सेल्फी पनि खिचेको छ । उक्त तस्वीरमा झुरोङ रोभरको दायाँतर्फ रकेट–पावर प्लेटफर्म देख्न सकिन्छ जसले मंगलमा ६ वटा पांग्रा भएको रोभर लगेको थियो। दुवै यानमा चिनियाँ झण्डा पनि देख्न सकिन्छ ।

केही तस्वीरमा मंगलको उत्तरी अवतरण थलो युटोपिया प्लानिसिया पनि देख्न सकिन्छ । मिसन सफलताको अवसरमा चिनियाँ अन्तरिक्ष नियोगले यी तस्वीर सार्वजनिक गरेको हो । झुरोङले मंगलमा ९० दिन रहेर काम गर्नेछ ।

करिब सात महिनाको अन्तरिक्ष यात्रापछि रोभर गत मेमा मंगल ग्रह पुगेको थियो । मंगल ग्रहको कक्षमा तीन महिनासम्म परिक्रमा गरेर झुरोङ रोभर त्यहाँ पुगेको थियो । चिनियाँ भाषामा झुरोङको अर्थ पौराणिक अग्नि र युद्धको देवताको रूप हो । सन् २०२०को जुलाईमा चीनले मंगल ग्रह तियान्वेन–१ मिसन सञ्चालन गरेको थियो । चीनको यो सफलतालाई अन्तरिक्ष खोजमा ठूलो सफलताको रूपमा लिइएको छ ।