एजेन्सी := युरोकप अन्तर्गत हिजो शनिबारको दिन भएको दोस्रो खेलमा डेनमार्क र फिनल्याण्डबीचको खेल स्थगित भएको छ। खेलको ४३ औं मिनेटमा डेनमार्कका खेलाडी क्रिस्टियन इरिक्सन मैदानमा ढलेपछि खेल स्थगित गरिएको हो। खेल डेनमार्कको पार्केन स्टेडियममा चलिरहेको थियो।
यूईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित गरिएको जनाएको छ। मैदानमा ढलेका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनमा अहिले होसमा आएको डेनिस फुटबल संघले जनाएको छ ।

त्यस्तै समाचार संस्था रोयटर्सले मैदानबाट स्ट्रेचरमा बाहिर लैजाँदै गर्दा एरिक्सनले हात उठाएको उल्लेख गरेको छ । रोयटर्सले समाचारमा भनेको छ, ‘मैदानबाट बाहिर लैजाँदै गर्दा रोयटर्सका फोटोग्राफरले एरिक्सनले हात उठाएको देखेका थिए । पछि रंगशालामा उद्घोषकले उनलाई नजिकैको अस्पताल लगिएको बताएका थिए ।’
त्यस्तै बीएनओ न्युजले एरिक्सनका प्रतिनिधिलाई उद्द्धृत गर्दै अहिले उनी होसमा रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाएको छ ।
एरिक्सनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि यूईएफएले डेनमार्क र फिनल्यान्डबीचको आजको खेल स्थगित गरेको थियो । एरिक्सनको स्वास्थ्य अवस्थामा सुधार आएसँगै खेल पुन: सुरु हुने पनि डेनिस फुटबल संघले जनाएको छ ।




















