हवाई उडान बन्द हुँदा मलेसियामा ३५ वटा शव र हजारौंहजार नेपाली श्रमिक अलपत्र।

क्वालालम्पुर (मलेसिया):= नेपालीहरुको लागी प्रमुख गन्तव्य मध्यको एक अन्तर्राष्ट्रिय देश हो मलेसिया। जहाँ ४ लाखको हाराहारीमा नेपाली श्रमिकहरु सुरक्षागार्ड, म्यानुफ्याक्चरिङ, प्लान्टेशन,निर्माण लगायतको गरि विभिन्न क्षेत्रमा कार्यरत रहेका छ्न।

तर पछिल्लो समय नेपालमा कोरोना संक्रमणको सङ्ख्या उच्च भएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको छ। मलेसियाबाट नेपाल फर्किने अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदा मलेसियामा कैयौं मृत नेपालीको शव अस्पतालमै अलपत्र पर्नुको साथै स्वदेश फर्किने तयारीमा रहेका हजारौंहजार नेपाली श्रमिकहरु अलपत्र परेका छ्न।

सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ जना मृत् नेपालीको शव यतै रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनुभएको छ।

तस्बिरमा , मलेसियामा लागि नेपाली राजदूत उदयराज पाण्डे

उहाँका अनुसार रोजगारदाता कम्पनी संगको करार अवधी , भिसा सकिएर नेपाल फर्कन खोज्ने नेपाली श्रमिकहरुको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गैइरहेको र करिब १ हजार बढी नेपाली स्वदेश फर्किने तयारीमा रहेको बताउनुभएको छ।

मलेसियामा विभिन्न कारणले जेल परेका र जेलको समयावधि सकेर घरफिर्ती केन्द्रमा रहेका ६५ जना नेपाली घर फर्कने दिन कुरेर बसिरहेका छ्न।  ‘दिनहुँ घर फर्कन पर्नेहरूको सङ्ख्या बढ्दो छ, हामीले कम्तीमा हप्तामा एउटा भए पनि उडान खोलिदिनुहोस् भनेको हो, उडान नखोली समस्याको समाधान हुँदैन,’ राजदूत पाण्डेले भन्नुभयो।

मलेसियामा गएको वर्षजस्तो अहिले चाहिँ रोजगारी गुमेर अलपत्र पर्ने अवस्था भने अहिले छैन । करार सकिएर घर फर्कने तयारीमा रहेकाहरूलाई रोजगारदाता कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहेको छ , राजदूत पाण्डेले भन्नुभयो।