नेपाल जोर्डनसँग ३–० ले गोल अन्तरले हार्यो, विश्वकपमा छनोट हुने आशा समाप्त।

कुवेत := विश्वकप क्वालिफायर्सको एसिया छनोट अन्तर्गत कुवेतस्थित जबेर अल अहमेद स्टेडियममा सम्पन्न समूह बी को खेलमा नेपाली फुटबल टोली जोर्डनसँग ३-० गोल अन्तरले हारेको छ।

खेलको सुरुबाटै आक्रामक देखिएको जोर्डनले खेलको २३ औं मिनेटमा अग्रता बनाएको थियो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै जोर्डनका बाह फैसलले अग्रता दिलाए।

पहिलो हाफमा एक गोलले अघि रहेको जोर्डनका लागि दोस्रो गोल पनि फैसलले नै ४८ औं मिनेटमा गरेका थिए। त्यस्तै याजन अलअरबले ६७ औं मिनेटमा गोल थप्दा जोर्डनले ३-० को जित निकालेको हो।

यता नेपालका लागि दोस्रो हाफमा अञ्जन बिष्टले पाएको राम्रो अवसरमा पोस्ट बाहिर प्रहार गरेका थिए भने इन्ज्युरीसममा जोर्डनका गोलकिपरलाई बिट गरिसकेका नवयुग श्रेष्ठ बक्समा लडेका थिए।

फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै यसअघिको खेलमा पनि जोर्डनले नेपालमाथि ३-० को गोलअन्तरले जित निकालेको थियो।

जितसँगै जोर्डनले ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानमा १५ अंक जोडेको अस्ट्रेलिया छ भने तेस्रो स्थानमा १० अंक जोडेको कुवेत छ। त्यस्तै ६ अंक जोडेको नेपाल तेस्रो चौथो स्थानमा र जितबिहीन चाइनिज ताइपेइ अंकतालिकाको पुछारमा छन्।

नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने अझै कायम रहेको छ ।