इटालीको सानदार जित।

एजेन्सी := अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले चेक रिपब्लिकमाथि ४–० को सानदार जित हात पारेको छ । इटालीको फराकिलो जितमा सिरो इमोविले, निकोलो बरेल्ला, लोरेन्जो इन्सिग्ने र डोमिनिको बेरारडीले गोल गर्नुभयो ।

खेलको २३औं मिनेटमा सिरो इमोविलेको गोलबाट इटालीले अग्रता बनाएको थियो । ४२औं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इटालीलाई पहिलो हाफमा २–० को अग्रता दिलाउनुभयो । ६६औं मिनेटमा लोरेन्जो इन्सिग्नेले र ७३औं मिनेटमा डोमिनिको बेरारडीले गोल गर्दै इटालीलाई ४–० को जित दिलाउनुभयो ।

युरोकपको तयारीका लागि राष्ट्रहरूले अभ्यास खेलिरहेका छन् । अब समूह ‘ए’ मा रहेको इटालीले १२ जुनमा टर्कीसँग युरो कपमा प्रतिस्पर्धा गर्दैछ । त्यसपछि १७ जुनमा स्वीट्जरल्याण्ड र २० जुनमा वेल्ससँग खेल्नेछ । यस्तै चेक रिपब्लिकले ९ जुनमा अल्वानियासँग मैत्रीपूर्ण खेल खेलेपछि युरोकपमा होमिनेछ । चेक युरोकपमा समूह ‘डी’ मा छ । चेक रहेको समूहमा स्कटल्याण्ड क्रोएसिया र इंग्ल्याण्डर छन् । यस्तै अर्काे मैत्रीपूर्ण खेलमा आइसल्याण्डले फारोइ आइल्याण्डलाई १–० ले पराजित गरेको छ । ७०औं मिनेटमा मिकाइल एन्डरसनले गरेको गोल नै आइसल्याण्डको जितमा निर्णायक बन्यो ।

स्पेन र पोर्चुगलको बराबरी

अर्को मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीका पटकपटकका प्रयास सफल हुन सकेनन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसमेत गोल गर्नबाट चुक्नुभएको थियो । अब स्पेनले अर्काे मैत्रीपूर्ण खेलमा लिथुआनियासँग तथा पोर्चुगलले इजरायलसँग खेल्दैछ । त्यसपछि दुवै टोली युरोकपमा होमिनेछ । स्पेन रहेको समूह ‘ई’ मा स्वीडेन, पोल्याण्ड र स्लोभाकिया तथा पोर्चुगल रहेको समूह ‘एफ’ मा हंगेरी, जर्मनी र फ्रान्स रहेका छन् ।

 

टुचेल र जिरुड चेल्सीमै रहने

जर्मन प्रशिक्षक थोमस टुचेल र फ्रान्सेली फरवार्ड ओलिभर जिरुड इंग्लिस क्लब चेल्सीमै रहने हुनुभएको छ । उहाँहरू दुवैले क्लबका सम्झौता थप्नुभएको हो ।

टुचेलले क्लबसँग तीन वर्षको सम्झौता नवीकरण गर्नुभएको हो । उहाँले यस सिजनको च्याम्पियन्स लिग जिताएपछि क्लबले सम्झौता थपेको हो । अब टुचेल २०२४ सम्म चेल्सीको डगआउटमा रहनुहुनेछ । टुचेल गत जनवरीमा १८ महिनाको लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट चेल्सी आउनुभएको थियो ।

यस्तै फ्रान्सेली फरवार्ड ओलिभर जिरुडले पनि चेल्सीसँगको सम्झौता नविकरण गर्नुभएको छ । ३४ वर्षीय जिरुडले चेल्सीसँग थप एक वर्षको सम्झौता नविकरण गर्नुभएको हो । नयाँ सम्झौताअनुसार उहाँ २०२२ जुनसम्म चेल्सीमै रहनुहुनेछ । चेल्सीमा उहाँको सम्झौता ३० जुनमा सकिँदै थियो । विश्वविजेता फ्रान्सको टोलीको सदस्य रहनुभएका जिरुडले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा सेभियाविरुद्ध एक्लैले चार गोल गर्नुभएको थियो ।

प्रि–क्वार्टरफाइनलमा एट्लेटिको म्याड्रिडविरुद्ध पनि उहाँले ओभरहेड किकमार्फत महŒवपूर्ण अवे गोल गर्नुभएको थियो । सोही कारण पनि क्लबले उहाँको सम्झौता नवीकरण गरेको हो। जिरुडले अघिल्लो सिजन ३१ खेलमा ११ गोल गर्नुभएको थियो । २०१८ मा इंग्लिस क्लब आर्सनलबाट चेल्सी पुगेका जिरुडले च्याम्पियन्स लिग, युरोपा लिगा र एफए कप जित्नुभएको छ । उहाँले चेल्सीका लागि ११९ खेलमा ३९ गोल गरिसक्नुभएको छ ।