म्यानमारी सेनाद्वारा दुई पत्रकारलाई जेल सजायँ।

एजेन्सी := म्यानमारको सेनाले दुई पत्रकारलाई गलत समाचार फैलाएको आरोपमा जेल सजाय दिएको छ । म्यानमारमा भइरहेको सेनाविरुद्धको प्रदर्शनलाई दबाउने क्रममा सेनाले पत्रकारहरूलाई जेल हालेको हो ।

म्यानमारको दक्षिणी म्याइकमा रहेको सैन्य अदालतले औङ क्याव र जा जालाई दुई वर्षको जेल सजाय सुनाएको हो । गत फेब्रुवरीमा सेनाले ‘कू’ गरेपछि पत्रकारद्वयले गरेको रिपोर्टिङको कारण देखाउँदै उनीहरूलाई जेल सजाय सुनाइएको हो ।

संविधानको रक्षाको लागि पत्रकारहरूलाई जेल पठाइएको सेनाको दाबी छ । तर, सेनाविरुद्ध भइरहेको प्रदर्शनलाई दबाउने प्रयासस्वरूप पत्रकारहरूलाई जेल हालिएको नेताहरूको आरोप छ । म्यानमारमा सेनाले ‘कू’ गरेपछि ८७ पत्रकार पक्राउ परिसकेका छन् भने ५१ पत्रकार अझै हिरासतमा रहेको बताइएको छ ।

म्यानमारमा सेनाले प्रजातन्त्रवादी नेताहरूलाई हिरासतमा लिँदै ‘कू’ गरेसँगै निरन्तर सेनाविरुद्धको प्रदर्शन जारी छ । प्रदर्शनको क्रममा पछिल्लो समयसम्म ८४१ जनाको मृत्यु भइसकेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, यांगुुन शहरमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा सेनाले १५ जनालाई कडा परिश्रमसहित २० वर्षको जेल सजाए सुनाएको छ । औद्योगिक कारखानामा आक्रमण गरेको आरोपमा अन्य २८ जनालाई कारबाही गरिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय समुदायले निरन्तर म्यानमारको सेनाको आलोचना गर्दै निर्वाचित सरकारलाई अधिकार फिर्ता गर्न दबाब दिँदै आएका छन् । सेनाले भने म्यानमारको संविधानको रक्षाका लागि यो कदम उठाउन जरुरी देखिएको दाबी गर्दै आएको छ ।