ओली सरकारमा राजेन्द्र महतो उपप्रधानमन्त्री सहित जसपाबाट १० जना बने मन्त्री।

काठमाडौं := संसद विघटन र निर्वाचनको घोषणा पछि स्वतः काम चलाउ सरकारमा परिणत भएको प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नयाँ १२ जना मन्त्रीहरु नियुक्त भएका छन्। आफ्नै पार्टी भित्र भाँडभैलो भएका बेला प्रधानमन्त्री ओलीले आज जसपाको ठाकुर महतो समुहका १० सहित १२ नयाँ मन्त्री नियुक्त गरेका छन् । हिजै शुक्रबार एमालेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली सहित १३ मन्त्री आउट भएका छन् ।

यति धेरै मन्त्री नियुक्त गर्दा समेत प्रधानमन्त्री ओलीले रक्षा र गृहमन्त्रालय भने आफैसँग राखेका छन् । यस अघि रक्षा मन्त्री ईश्वर पोखरेल थिए । उनलाई हटाएर आफैले यो मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले जेठ ६ गते सर्वोच्चको आदेश अनुसार पूर्व माओवादी समुहका तर्फबाट राम बहादुर थापाले सम्हालेको गृहमन्त्रालय पनि प्रधानमन्त्री स्वयंले राखेका छन् ।
एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

यसै गरी चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाबाट यी भए मन्त्री : 
जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।