कोरोनाभाइरस कहाँबाट फैलियो पत्ता लगाउन राष्ट्रपति बाइडेनले दिए गुप्तचरहरूलाई निर्देशन।

एजेन्सी := अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको महामारीका बारेमा थप अनुसन्धान गर्न निर्देशन दिएका छन् ।राष्ट्रपति बाइडेनले चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका बारेमा थप अनुसन्धान गरेर तीन महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन ।

द-न्युयोर्क टाइम्सका अनुसार केही हप्ताअघि विभिन्न गुप्तचर संस्थाहरूले बुझाएका प्रतिवेदनमा भाइरसको उत्पत्तिबारे एकमत नभएपछि राष्ट्रपति बाइडेनले बुधबार फेरि अनुसन्धान गर्न निर्देशन दिएका हुन्। अमेरिका कोरोनाले सबैभन्दा बढी नागरिकले ज्यान गुमाएको मुलुक हो। त्यहाँ अहिलेसम्म ६ लाख बढी मानिसको मृत्यु भइसकेको छ।

बाइडेनले अनुसन्धानको रिपोर्ट ९० दिनभित्र आफूलाई बुझाउन पनि भनेका छन्। ‘मैले गुप्तचर संस्थाहरूलाई ठोस निष्कर्षमा पुग्नका लागि सूचनाको संकलन र विश्लेषणमा अहिलेको प्रयासलाई दोब्बर पार्न भनेको छु,’ बाइडेनले भने।

चीनबाट सुरु भएको कोरोना विश्वभर महामारीको रुपमा फैलिइरहेको छ । कोरोना महामारीका कारण विश्वभर करोडौं मानिस प्रभावित भएका छन् भने लाखौंको मृत्यु भइरहेको छ ।पछिल्ला दिनहरुका दक्षिण एशियाली मुलुहरुको कोरोना संक्रमण तीव्ररुपमा बढीरहेको छ । यसअघि अनुसन्धानकर्ताहरुले जनावरहरुबाट मानिसमा संक्रमण भएर कोरोनाको महामारी सुरु भएको बताएका थिए ।

तर हालैका दिनहरुमा अमेरिकी वैज्ञनिकहरुले चिनियाँ प्रयोगशालहरुबाटै भाइरस फैलिएको दावी गरेका छन् । अमेरिकी वैज्ञानिकहरुको उक्त दावीको चीनले कडा रुपमा खण्डन गर्दै आएको छ ।