काठमाडौं:= मुलुकमा कोरोना भाइरसको आक्रान्त चलिरहँदा राजनीतिक परिवेशम भने निकै हलचल मच्चिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार मध्यरातमा प्रतिनिधिसभा भंग गरेको विषयमा चौतर्फी आलोचना भरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीबाट चालिएको कदमको सत्तासीन नेकपा एमालेका केही नेताबाहेक सबैले निरंकुश, असंवैधानिक र प्रतिगमन भएको बताउँदै आएका छन् ।
यही समयमा नेपाली कलाकारहरूले आआफ्नो धारणा राखेको देखिन्छ । मुलुकको राजनीतिक अवस्थाबारे चासो राखिरहने कलाकारहरूले सामाजिक सञ्जालका भित्ताहरूमा लेखिरहेको देखिन्छ । लोकप्रिय अभिनेत्री रेखा थापाले मानवजाति र महामारीबीचको लडाइँमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप चल्नु दुःखद् रहेको बताउनु भएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘नागरिकको जीवन रक्षा गर्न सबै दलले भोट र विश्वास पाएकै छन् (आकार फरक होला) । प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन र अर्को सरकार वा चुनाव भए पनि जमिनी यथार्थ फेरिँदैन ।’
राजनीतिले आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आमजनता सधैं निरीह रैति भएर बस्नुपर्ने रेखाको तर्क छ । राप्रपा नेतृसमेत रहनु भएकी थापाले अगाडि लेख्नुहुन्छ, ‘यस्तो बेलामा पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनुपर्ने होइन र ? लाखौं मान्छेले मत दिएका माननीय अनी पार्टीहरू गुनासो र गाली गर्ने चौतारो हुन् ?’ लासहरूले हृदय नछुने पापी व्यवस्थाले राजनीति झन् घृणित हुने उल्लेख गर्दै उहाँ अगाडि लेख्नुहुन्छ, ‘यी अनुहार सिंहदरबार छिरेको कति वर्ष भयो ? जनताको रक्षाका लागि यिनीहरूले आफ्नो पालामा के–के गरे ? अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को–को जिम्मेवार छन् ? हिसाब व्यक्ति र व्यवस्था दुइटैको हुनुपर्छ । जनताले धैर्यताको सीमा तोड्ने बेला आएन र ?’
यस्तै खेलप्रेमी गायक बद्री पंगेनीले वर्तमान राजनीतिलाई खेलसँग जोडेल फेसबुकमा लेख्नुहुन्छ, ‘रियल म्याड्रिडमा अरूको त खास माया होइन, जिदान दाइको माया हो । खेलमा हार जित हुन्छ, यसपटकलाई हार स्वीकार गर्दै स्वारेज भाइलाइ र एथलेटिको म्याड्रिडलाई बधाई भन्दै निन्द्रादेवीको चरणमा लागियो….त्यो पनि रोनाल्डोलाई फेरि म्याड्रिडमा ल्याउने सपना देख्दै ।
यस्तै कलाकार दीपकराज गिरीले तिखो व्यंग्य गर्दै प्लाष्टिकको झोलाभन्दा खतरनाक पार्टीको झोला भएको बताउनुभएको छ । समसामयिक र राजनीतिक विषयमा सधंै घुमाउरो पारामा तिखो व्यंग्य गर्दै आउनु भएका दीपकले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्लाष्टिकको झोलाभन्दा खतरनाक रहन्छ पार्टीको झोला, जसले बोक्यो त्यसको आँखा अन्धो । कान बहिरो, बुद्धिमा ढकन’ उहाँले अहिले प्लाष्टिकको झोलाभन्दा पार्टीको झोला त्याग्नुपर्ने धारणा समेत अगाडि सार्नुभएको छ ।
यस्तै हास्यव्यंग्य कलाकार मनोज गजुरेलले व्यग्य गर्दै ‘रातो ढुसी’ लागेको भन्दै नेपाली राजनीतिलाई यसरी व्यंग्य गर्नुहुन्छ । ‘विशेष गरेर ‘वाम नेता’मा रेड फुन्गस ले संक्रमण गरेको देखिन्छ । यसको पहिलो लक्षण आज भएको राष्ट्रिय सभाको चुनावमा देखिएको छ । नेपालीमा ‘रातो ढुसी’ भनिने रेड फुन्गस लागेपछि बहुमत पचाउँन नसक्ने तथा एकता बचाउँन नसक्ने समस्या देखिन्छ । जनताको ज्यानभन्दा ठूलो ओफ्नो पद प्यारो लाग्छ । आफन्तको साथभन्दा पराईको लात मीठो लाग्न थाल्छ ।’ यसैगरी अन्य थुप्रै कलाकारहरूले अहिलेको राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेको देखिन्छ ।




















