काठमाडौं := राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिनुभएको तीन दिनको म्याद आज बेलुका ९ बजे सकिँदै छ । राष्ट्रपति भण्डारीले संबिधानको धारा ७६ को उपधारा २ अनुसार बिपक्षी दलहरुलाई सरकार गठनका लागि आज साँझ ९ बजेसम्मको समय दिनुभएको हो ।
अहिलेसम्मको अवस्था हेर्दा कांग्रेस माओवादीसहितको विपक्षी गठबन्धनलाई बहुमत जुटाउन सकस परेको देखिन्छ । जनता समाजवादी पार्टी एकढिक्का नभएसम्म विपक्षी गठबन्धनको बहुमत पुग्दैन । बहुमतको सरकारका लागि विपक्षी दलहरूले अहिले १३६ मत जोड्नुपर्ने हुन्छ । सोमबार संसद्को गणितअनुसार कांग्रेस माओवादीलाई दर्जन बढी सदस्यहरूको समर्थन चाहिन्छ । यसका लागि जसपा सिंगो पार्टी वा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षमध्ये एकले साथ दिनुपर्ने हुन्छ। अहिले जसपा सिंगो पार्टीले साथ दिने अवस्था देखिदैन त्यसैले नेताहरूले नेपाल पक्षलाई फकाइरहेका छन् ।
समाचार स्रोतका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्ताव अस्विकार गर्नुभएको छ । देउवा निवास बूढानीलकण्ठमा आज भएको कांग्रेस र जसपाको ठाकुर पक्षबीच भएको वार्ता विफल भएको जसपा स्रोतले जनाएको छ । जसपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै जसपा भित्र नखेलिदिन सभापति देउवासँग आग्रह समेत गरेको बताइएको छ ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विपक्षमा १२४ मत आएको थियो । जसपाका महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बस्नुभएको थियो । उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका १५ सांसदले विपक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत आएको थियो । १२१ सांसद रहेको एमालेमा नेपाल पक्षका २८ जनाले ओलीलाई मत नदिएका हुन्। जसपाको ठाकुर पक्षसँग कुरा नमिलेपछि एमालेको असन्तुष्ट नेपाल पक्षलाई राजीनामा गराउन विपक्षी गठबन्धन लागिपरेको छ ।
हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पु¥याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ। कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा १५ जना छन। यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२४ मात्रै सांसद हुन्छन्। बहुमतका लागि १ सय ३६ सांसदको आवश्यकता पर्छ। एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ हुन्छ । बहुमतका लागि १ सय २७ आवश्यक हुन्छ। नेपाल पक्षका १९ जनाले राजीनामा दिँदा पनि बहुमत जुटाउन सकस नै छ।
दिएको समयसम्म विपक्षी दलहरू बुहमतसहित सरकारको दाबी गर्न नसके पुनः केपी शर्मा ओली नै सरकारको नेतृत्वमा आउनुहुनेछ । यद्यपि, नियुक्तिको ३० दिनभित्र उहाँले पुनः विश्वासको मत लिनुपर्ने हुन्छ। बहुमतको सरकार गठन दावी गर्नका लागि अग्रसर देखिएको कांग्रेसको विकाशित पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्न र निर्णय लिन कांग्रेसले आजै ४ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनु भएको हो ।
कांग्रेसनिकट उच्च स्रोतका अनुसार बिहीबार बिहान देउवा निवासमा भएको जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि देउवाले बैठक बोलाउनु भएको हो ।यसैबीच एमाले अध्यक्ष ओली र वरिष्ठ नेताबीच आज भेटवार्ता शुरु भएको छ ।पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । यस अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको थियो ।
सोही बैठकले बैठकले नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो।स्थायी कमिटीको बैठक बस्नु अघि बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गर्नुभएको थियो ।आज विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गर्नुभएको थियो । एमाले नेपाल पक्षले भने २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने बताएको छ ।




















