एजेन्सी:= ब्राजिलियन स्टार फुटबलर नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग थप ३ वर्षको सम्झौता नविकरण गरेका छन् । अब उनी सन् २०२५ सम्म पिएसजीमा रहनेछन् ।
नेयमार पूर्व क्लब बार्सिलोना जाने चर्चा चलिरहेकै बीचमा पिएसजीसँगको सम्झौता नविकरण गरेका हुन् । बार्सिलोनाबाट विश्व कीर्तिमान १ सय ९८ मिलियन पाउन्डमा नेयमार २०१७ मा पिएसजी पुगेका थिए । २०१९ मा नेयमारले आफूले फ्रान्स छाड्न चाहेको बताएका थिए ।

तर, टोली गत वर्ष च्याम्पियन्स लिगको फाइनलमा पुगेपछि उनी पिएसजीमा लामो समय बस्नका लागि तयार भएका छन् । क्लबले आफ्नो ट्विटर पेजमा नेयमारले क्लबमा आबद्ध हुँदाको फोटा पोष्ट गरेको छ । त्यस्तै क्लबले नेयमार जुनियर २०२५ क्याप्सन राखेर फोटा राखेको छ ।
क्लबसँग नेयमारको पछिल्लो सम्झौता २०२२ सम्म रहेको थियो । केहि सञ्चारमाध्यमले बार्षिक ३० मिलियन यूरोमा उनले नयाँ सम्झौता गरेको उल्लेख गरेका छन् । । सम्झौतामा यदि टोलीले आउने केहि वर्षमा च्याम्पियन्स लिग जितेमा बोनस दिइने पनि उल्लेख रहेको समाचारमा जनाएको छ ।
पिएसजी २२ वर्षे फ्रान्सेली फरवार्ड केलियन एमबाप्पसँगको सम्झौता पनि नविकरण गर्न चाहन्छ । उनको सम्झौता अर्को वर्ष सकिदैछ । दुई साता अघि पत्रकार सम्मेलनमा नेयमारले आफू क्लबमा खुसी रहेको उल्लेख गर्दै सम्झौता नविकरणको सम्भावना रहेको बताएका थिए ।

‘पिएसजीसँगको मेरो सम्झौता सकिन अझै बाँकी छ । हामी सबैका लागि उत्तम हुने गर्नेछौं । मैले पहिले पनि भनेको थिए म यहाँ खुसी छु । पहिलाको भन्दा यो सिजन अझै राम्रो महसुस गरेको छु,’ नेयमारले भनेका थिए, ‘मैले पनि केहि पक्षमा सुधार गर्नुपर्नेछ । केहि कठीन समय पनि रह्यो, त्यसलाई सबैले बुझेका छन् । म व्यवसायिक रुपमा प्रस्तुत हुन हर सम्भव प्रयास गर्दै आएको छु ।’
गत सिजन पहिलो पटक फाइनल पुग्न सफल भएको पिएसजी यसपटक भने सेमिफाइनलमा रोकिएको छ । म्यानचेस्टर सिटीसँग समग्रमा ४–१ को हार बेहोर्दे पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पिएसजीमा नेयमारको प्रदर्शन एक रुपको भने रहन सकेको छैन । यद्दपी उनी सम्मलित टोलीले लगातार ३ पटक लिग वानको उपाधि जितेको थियो ।
उनीसहितको टोलीले च्याम्पियन्स लिगको नकआउट चरणमा उच्च प्रदर्शन गर्न सकेन । नेयमार पटक पटकबाट चोटबाट पनि गुज्रिएका थिए । नेयमारले च्याम्पियन्स लिगका नकआउट चरणमा ५ खेल गुमाएका थिए । प्रतियोगिताको १० खेलमा उनले २ गोल मात्र गर्न सके ।




















