राष्ट्रियसभा उपनिर्वाचनका लागि ३ जनाले गराए उम्मेदवारी दर्ता।

मकवानपुर := बागमति प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।जेठ ६ गते हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि शुक्रबार सत्तारुढ दल नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा, स्वतन्त्र उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नेकपा एमालेका डाक्टर देवकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा रहेको ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन अधिकृतको कार्यालय’ मा पुगी उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।  गृहमन्त्री थापाको प्रस्तावकमा बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थकमा रहनु भएको छ ।

उम्मेदवारी दिएपछि संचारकर्मी संग कुरा गर्दै गृहमन्त्री थापाले आफ्नो बिजय सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले ९ हजार ५ सय ६४ कुल मतदाता मध्ये नेकपा एमालेको ५ हजार १ सय ३० मत रहेकाले आफ्नो जित सुनिश्चित रहेको तर्क गर्नुभयो ।गृहमन्त्री थापा निर्वाचन आचारसंहिता विपरित हेलिकप्टरबाट उम्मेदवारी दर्ता गराउन हेटौडा पुग्नुभएको थियो ।

स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका नेता एवं बागमती प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष खिमलाल देवकोटाले आफु स्वतन्त्र उम्मेदवार भएकाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको दाबी गर्नुभयो ।

उहाँले सबैको समर्थन आफुलाई रहेकाले आफ्नो जित सुनिश्चित भएको र आफ्नो उम्मेदवारी संविधानको रक्षाका लागि भएको प्रतिक्रिया दिनुभयो । आफुले स्थानीय र प्रदेश तहका समस्यालाई राष्ट्रिय सभामा पु¥याएर समाधानको पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले हुनुहुन्छ ।

त्यसैगरी, राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु हुनुहुन्छ । उहाँले पार्टीको नीति अनुसार आफुले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रियसभामा निर्वाचित गृहमन्त्री राम बहादुर थापाले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा बागमती प्रदेशका १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८  सहित ३४८ जनाले मतदान गर्नेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र  स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ ।