सरकारले गर्नुगरेकै छ तर किन ढिलो?

देशमा सरकार छ, छैन भनेको होइन । काम पनि गरिरहेकै छ । कसैले उसले काम गरेको नदेख्लान् कसैले सरकारले पूर्ववर्ती सरकरारहरूको भन्दा धेरै काम गरेको देख्लान् त्यो आआफ्नो हेराइ हो । सरकारले आफैंले आपूmले गरेको कामको मूल्यांकन गर्नुपरेको खण्डमा आफूले जति काम कसैले पनि नगरेको देख्ला । अझै आपूmले यो तीन वर्षमा गरे जति काम यस पहिलेका तीन दशकका सरकारलेसमेत गर्न सकेका थिएनन् भन्ने दाबी गर्नसक्छ । हामीले बीचमा उभिएर हेर्ने हो भने यस सरकारले कुनै काम गर्दै गरेको छैन भन्न सक्दैनौं । सरकार हो काम गरेकै छ । सरकार हुनु भनेको जनताका काम गर्नकै लागि हो तर सरकार छ भनेरमात्र जनता ढुक्कले बस्नसक्ने अवस्था सिर्जना हुन सकेको छ कि छैन त्यसले प्रमुखता पाउने हो ।

यस सरकारले काम गरेको छ तर त्यसमा गलत काम मिसिएका छन् । हालको विषम परिस्थिति कुटिल राजनीतिमा अल्मलिने अवस्थाको होइन । अहिले पनि सरकारका जालझेलका तानाबानाहरूले नेपाल माकुराका जालाले सिमीको झाल छोपिए जसरी छोपिएको छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ कोरोना संक्रमणले देशको स्थिति भयावह बनिसकेको छ । सरकार सत्ता जोगाउने र अरू राजनीतिक पार्टीहरू सरकार गिराउने खेलका अहिले व्यस्त छन् । यसलाई दुर्भाग्य भन्नुबाहेक कुनै उपाय छैन । कोरोना केही होइन सामान्य रुघाखोकी मात्र हो अम्बकका पात राखेर उमालेको पानी खाए निको हुन्छ भन्दाभन्दै एकाएक कोरोनाको संक्रमण अनियन्त्रित बन्न पुगेको छ ।

गतवर्ष दुई÷चारजना संक्रमित भेटिँदा जुन त्रास थियो अहिले दुई हजार पच्चीस सय भेटिँदासम्म यसलाई न त सरकारले न त जनताले नै आपत्को स्थिति माने तर एकाएक झण्डै ६ हजारको नजिक एकै दिन संक्रमित र ३५ जना मृतकको संख्या पुगेपछि भने सरकार आत्तिएको मनस्थितिमा पुगेको छ । सरकारले स्थिति नियन्त्रणबाहिर जान लागेको अभिव्यक्ति दिएको छ । साँच्चै स्थिति नियन्त्रण बाहिरै जाने हो भने कस्तो अवस्था सिर्जना होला त्यो कल्पनाको कुरा हो । अहिले त सरकारले केही गरिरहेकै छ । भारतसँगको सीमा बन्द गर्ने भनेको छ, पिसिआरको टेष्ट रिपोर्ट नभई आउजाउ गर्न नपाउने भनेको छ । कोरोना रोकथामका लागि रकमान्तरण गरेको छ ।

निषेधाज्ञा जारी गरेको छ । यति गरिसकेपछि निषेधाज्ञाको प्रभावकारिताको जाँचिनु आवश्यक छ । भारतको हरेक प्रभाव नेपालमा पर्छ । उक्त कुरा सरकार चलाएर बसेका राजनीतिज्ञलाई थाहा नहुने कुरै हुँदैन । त्यसकारणले यसलाई रोक्न पहिले नै सतर्कता अपनाउनुपथ्र्यो । सीमा बन्द गर्नेलगायत कार्य धेरै पहिले गरिनुपथ्र्यो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमत्तापूर्ण काम हुन्थ्यो । भारतमा कोरोना संक्रमणको अवस्था भयाभह बन्दै गएपछि यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्डहरूको व्यवस्था गरिनुपथ्र्यो तर सरकार त्यसतर्फ ध्यान नदिई राजनीतिक जुवारीमा तल्लीन भइरहृयो ।

अब जब कोरोनाको संक्रमणले देश लपेटिन पुग्यो तब हतार हतारमा केही गरिरहेको छ । आत्तिएको मनस्थितिका गरिएका यस्ता कामहरू हतपतको काम लतपत नबनून् । गरेका कामहरूमा परिपक्वता देखियोस् । जनताले उपचार नै नपाएर मर्नु नपरोस् । कोरोनाको उपचार गर्नकै लागि छुट्टै अस्पतालहरूको व्यवस्था गरियोस् । चीनले छ दिनमै कोरोना अस्पत्ताल बनाउन सक्छ भने त्यति नै क्षमताको त्यति नै छिटो नभए तापनि महिना डेढ महिनामा त हामी बनाउन सक्छौं होला । त्यसतर्फ सरकारको ध्यान जाओस् । सरकारको ध्यान सधैं कमिसनको स्रोत खोज्नेतिरमात्र नगएर सेवाका कामहरू गर्ने सोचमा जाने हो भने यस्ता सेवाका पवित्र कामका लागि दाताहरू नपाइने होइन ।

अब समय छैन, गरौंला नि भनेर बस्न मिल्ने बेला होइन । अब जे गर्ने हो गरिहालौं । रकमान्तरण, सीमा नाकामा कडाइका साथै पर्याप्त आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था र कोरोना प्रभावितहरूका लागि आवश्यक अक्सिजान, भ्यान्टिलेटर उपचार वार्डहरूको व्यवस्था गरिनुपर्दछ । कुनै नेपाली भ्यानिटलेटर, अक्सिजन र उपचार वार्ड नपाएर मरेको कुरा समाचारमा सुन्नु नपरोस् । त्योभन्दा खतरनाक कुरा कतै भोलिका दिनमा स्थिति नियन्त्रणबाहिर गएको हुँदा अब सरकारले केही गर्न सक्दैन भनेर सरकार पन्सिएर बस्ने अवस्था सिर्जना नहोस् । सरकार र अन्य सबै सरोकारवालाका साथै जनताले अहिले नै यसतर्फ सोच्नु जरुरी भइसकेको छ ।