चेन्नई:= इन्डियन प्रिमियरल लिग अन्तर्गत बुधबार चेनईमा आयोजित पञ्जाव किङ्ग्सविरुद्धको खेलमा सनराइजर्स हैदरावादले आफ्नो चौथो खेलमा पहिलोपटक जित हासिल गरेको छ ।
लगातार तीन खेलमा पराजय व्यहोर्दै आएको हैदरावादले पञ्जावविरुद्ध ९ विकेटको फराकिलो जित हासिल गरेको हो। टस जितेर पहिला ब्याटिङ रोजेको पञ्जावले निर्धारित १९ ओभर चार बलमै आफ्ना सबै विकेट गुमाएर १२० रन बनाएको थियो । १२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले एक विकेटको क्षतिमा लक्ष्य प्राप्ति गरेको हो ।
हैदरावादका लागि जोनी बेरिस्टोले अविजित ६३ रन बनाए भने कप्तान डेविड वार्नरले ३७ र केन विलियम्सनले अविजित १६ रन बनाए । यसअघि पञ्जावका लागि मयंक अग्रवाल र शाहरुख खानले समान २२ रन जोडेका थिए । यस्तै क्रिस गेलले १५, मोइसिस हेनरिक्सले १४ र दीपक होडाले १३ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल भए ।
लगातार ३ हारपछि पहिलाे जित हात पारेकाे हैदरावाद २ अंक जाेड्दै पाँचाै स्थानमा उक्लेकाे छ । समान अंक रहेकाे पञ्जाव अंक तालिकाको पुछारमा पुगेको छ ।




















