काठमाडौ:= नेपाल कम्यनिष्ट पार्टी (नेकपा)को एकता भंग भएपछि त्यसको असर संसद् र राजनीतिक दलहरूमा पनि देखिएको छ । एकता भंग भएर नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि त्यसको पराकम्प जनता समाजवादी पार्टी (जसपा)भित्र पनि पुगेको छ । नयाँ सरकार गठनका सम्बन्धमा नेपाली कांग्रेसमा पनि मतैक्यताको अभाव छ । तर, जसपाको विवादले भने उग्ररूप लिएको छ । सत्ता समीकरणको नयाँ खेल जारी रहेका बेला पार्टी विभाजनकै संघारमा पुगेको छ । केन्द्रमा पूर्व–राजपा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका बेला पूर्व–समाजवादी पक्षका नेताहरू भने ओलीको विकल्प खोज्नुपर्ने भन्दै माओवादी र कांग्रेससँग निरन्तर छलफलमा जुटेका छन् ।
जसपा विभाजनको झल्को लुम्बिनी प्रदेशमा पनि देखिएको छ । सोमबार नाटकीय रूपमा परिवर्तन भएको लुम्बिनी प्रदेशको सत्ता समीकरणको जोड–घटाउले यसको पुष्टि छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव लिएका सांसदहरू नै केही घण्टापछि पोखरेल नेतृत्वकै सरकारमा सहभागी भएपछि लुम्बिनीको राजनीति केहीक्षणमै परिवर्तन भएको थियो । उपेन्द्र यादव खेमाका सांसदहरू अश्विासको प्रस्ताव अगाडि बढाउने पक्षमा भए पनि महन्थ ठाकुर पक्षीय सांसदहरू सरकारमा सहभागी हुन चाहन्छन् । त्यसैको परिणाम अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै महन्थ ठाकुर पक्षीय नेताहरू सरकारमा सहभागी भएका थिए ।
आफ्ना सांसदहरू सरकारमा सहभागी भएपछि सोमबार नै यादव पक्षीय नेता अशोककुमार यादवले प्रेस विज्ञप्ति जारी गरेर राजीनामा गरेर फर्किन आह्वान गर्नुभएको थियो । लुम्बिनी प्रदेश समितिका अध्यक्षसमेत रहनुभएका यादवले पार्टी निर्णयविपरीत सरकारमा सहभाागी भएको भन्दै कारबाहीको चेतावनी दिनुभएको थियो । यादवले स्पष्टीकरण सोधेको केहीबेरमै ठाकुर पक्षीय नेता रविदत्त मिश्रले भने प्रेस विज्ञप्ति जारी गर्दै कुनै स्पष्टीकरण नसोधिएको जानकारी गराउनुभयो । उहाँले सरकारमा सहभागी भएकाहरूलाई शुभकामनासमेत दिनुभयो ।
विभाजनको डिलमा जसपा
शीर्ष नेताहरूबीच लामो समयदेखिको संवादहीनताको परिणाम लुम्बिनीबाट जसपा अनौपचारिक रूपमा विभाजित भइसकेको छ ।
अविश्वासको प्रस्तावमा दर्ता गर्नेहरू नै मन्त्री बनेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले ओलीका कारण पार्टीमा फुट आएको आफूनिकट नेताहरूलाई भन्दै आउनुभएको छ । मन्त्री बन्नेहरू केही यादव पक्षीय सांसदहरू पनि रहेका छन् । केन्द्रमा ओलीलाई समर्थन गर्ने कि ओलीबाहेकका शक्तिहरूसँग मिलेर सरकारमा जाने भन्ने विषयमा ठूलो मतभेद रहेको छ । नेता लक्ष्मणलाल कर्ण भने ओली सरकारले आफ्ना माग पूरा गरेको खण्डमा ओली सरकारमा नै सहभागी हुने बताउनुहुन्छ । बाबुराम–उपेन्द्रनिकट एक नेताले भने कुनै पनि हालतमा ओलीलाई सहयोग गरेर अगाडि बढ्न सकिने अवस्था नभएको बताउनुभयो । संसद् विघटन जस्तो असंवैधानिक काम गर्ने ओली तानाशाही बन्न खोजेकाले ओलीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने ती नेताको भनाइ छ ।
रेशम चौधरीलगायत नेताहरूलाई रिहाइका लागि प्रक्रिया पनि अगाडि बढाइसकेको भन्दै जसपाको बहुमत पक्ष केन्द्रमा ओली सरकारको पक्षमा छ । उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत पूर्व–संघीय समाजवादी पार्टीका नेताहरू भने ओलीलाई जसरी पनि विस्थापित गर्नुपर्ने बताउँदै आएका छन् । पार्टीभित्र अन्तरविरोध बढ्दै गएपछि पार्टी विभाजननजिक पुगेको भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
सरकारमा कसलाई समर्थन गर्ने भन्ने विषयमा पार्टी विभाजन भएमा पूर्व–राजपा पक्ष बलियो हुने विश्लेषण पनि हुन थालेको छ । यादव पक्षका केही नेता सांसदहरू महन्थ ठाकुरसँग जाने र पूर्व–राजपाका केही नेता सांसदहरू यादवसँग समाहित हुने संकेत देखिन थालेको छ । लुम्बिनी प्रकरणले घटनाले जसपा नेकपाकै हालतमा पुगेको जसपाकै नेताहरूले टिप्पणी गर्न थालेका छन् ।
विवादले कार्यकारिणीको बैठक अन्योलमा
गत चैत ५ गते कार्यकारिणी समितिको बैठक आहृवान भएर पनि अनिश्चितकालका लागि स्थगित भएको थियो । सो बैठक अहिलेसम्म पनि बस्न सकेको छैन । पार्टी समायोजनका बाँकी काम र सत्ता गठबन्धनका सबालमा छलफल गर्न केन्द्रीय कार्यकारिणी बैठक आहृवान भएको थियो । तर, नेताहरूको आपसी विवादका कारण नै बैठक अनिश्चित बनेको छ ।
नेताहरूले कार्यकारिणी समिति बैठकबाट सहमतिमा नै सरकारका विषयमा निर्णय गरिने बताउँदै आएका छन् । बैठक नै अनिश्चित भएपछि सत्ता गठबन्धनका विषयमा जसपा अलमलमै देखिएको छ । जसपा नेता मनिष सुमनले पार्टीले आधिकारिक धारणा बनाउन नसकेको उल्लेख गर्दै बैठक नै अनिश्चित भएपछि कसलाई समर्थन गर्ने वा नगर्ने टुंगो लाग्न नसकेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका विषयमा भने सांसदहरूलाई कारबाहीको अधिकार प्रदेश कमिटीलाई नभएको उहाँले बताउनुभयो । पार्टी समायोजनको बाँकी काम नभएको र केन्द्रीय कार्यकारिणी बैठक पनि बस्न नसकेको अवस्थामा प्रदेश कमिटीले कसैलाई निलम्बन गर्ने अधिकार नभएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री र ठाकुरबीच भेटवार्ता
लुम्बिनीमा विकसित भएको घटनाक्रमपछि प्रधानन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । ठाकुरसहित जसपाका नेताहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार नै पुगेका थिए । बालुवटारमा भएको दुई घण्टा लामो छलफलमा ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी हुनुहुन्थ्यो ।
भेटमा मधेश र थारुहट आन्दोलनका क्रममा जसपा नेताहरूमाथि लागेको मुद्दा फिर्ता लिने बारेमा छलफल भएको नेता कर्णले बताउनुभयो । प्रधानमन्त्रीले तीन÷चार दिनमा सबै मागहरू पूरा हुने आश्वासन दिएको पनि उहाँले बताउनुभयो । मंगलबार अन्य कुनै सहमति नभएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीले दिएको समय सीमाभित्र आफ्ना मागहरू पूरा भए ओली नेतृत्वकै सरकारमा सहभागी हुने बताउनुभयो। लुम्बिनी प्रदेशमा जसपाका चार सांसद सरकारमा सहभागी भएपछि भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।




















