काठमाडौं:= नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको चलचित्र ‘श्री’ आज (शुक्रबार) देखि देशभरका हलमा प्रदर्शन हुँदैछ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ बारे मंगलबार राजधानीको सिडिसी सिनेमामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।
नयाँ वर्षको अवसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दीप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रविन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गर्नुभएको छ ।
पहिला केही ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो चलचित्र हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैंले पहल गरेको बितरक करण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले आफूले अमेरिकामा रहनुभएका निर्देशक बोहरालाई सम्पर्कगरी हलमै प्रदर्शन गर्ने जिम्मेवारी दिएको बताउनुभयो ।
‘ट्रेलर एकदमै राम्रो लाग्यो । त्यसपछि मैले निर्देशक सूर्य दाइलाई सम्पर्क गरेर यो चलचित्र त हलमै प्रदर्शन गर्नुपर्छ । त्यसको सबै चाँजोपाँचो म मिलाउछु भनेर अनुरोध गरें,’ करणले भन्नुभयोे, ‘दाइ पनि आफ्नो चलचित्र हलमा आओस् भन्ने पक्षमा हुनुहुन्छ । कोरोनाका कारण थला परेको चलचित्र उद्योगको श्रीवृद्धिमा ‘श्री’ ले ठूलो योगदान गर्ने विश्वास मैले लिएको छु ।’
सोसियल सस्पेन्स कथामा निर्माण गरिएको चलचित्रको निर्माता श्रीपराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम हुनुहुन्छ ।
‘कोभिड–१९ को मारमा परेका कलाकर्मी तथा प्राविधिकलाई केही राहत होस् भनेर निषेधाज्ञाकै क्रममा यो चलचित्र तयार पारिएको हो । निर्देशक बोहराकै लेखनमा शिवम अधिकारीले सघाएको चलचित्रलाई शेरबहादुर तामाङले खिच्नु भएको हो । सुजन बडालको सम्पादन र एलिस कार्कीको व्याकराउण्ड स्कोर छ । ‘श्री’ हलका साथै ओएसआर डिजिटलका विभिन्न एप्लिकेसनमा समेत प्रदर्शन गरिँदैछ ।




















