अन्ततः बिस्का जात्रा मज्जाले मनाउन पाउने, जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश।

काठमाडौं := सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिस्का: जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो।

त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले सो अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता राजकुमार सुवालले प्रशासनको निर्देशनविरुद्ध रिट दिएका थिए ।

त्यस्तै बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय गरेको छ । त्यसअघि सांसद प्रेम सुवाल र नगरपालिका जनप्रतिनिधि लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर जात्रा रोक्ने निर्णय सच्याउन आग्रह गरेको थियो ।

यसमा प्रजिअ सकारात्मक भएपनि निकास दिन जति ढिला भए समस्या झन जटिल हुन सक्ने भन्दै नगरपालिकाले जात्रासँग सरोकार राख्नेहरुसँग बैठक राखेर ५ बुँदे निर्णय गरेको छ।

भैरवनाथको रथ तान्ने, लिङ्गो उभ्याउने र ढाल्ने जात्रा कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड अपनाइ सभ्य र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।