काठमाडौं:= नेपाल राष्ट्र बैंकले सुनको कोटा बढाएर २० केजी पु-याएको छ । दैनिक १० केजी आयात हुँदै आएकोमा २० केजी पु¥याएको हो । विगत लामो समयदेखि सुनचाँदी व्यवसायीले सुनको कोटा बढाउन माग गर्दै आएका थिए । उनीहरूले कोटा वृद्धिका लागि राष्ट्र बैंकदेखि सरोकारवाला मन्त्रालयसम्म लबिङ गर्दै आएका थिए । व्यवसायीले पछिल्लोपटक राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग पनि भेट गरेका थिए ।
व्यवसायीको मागअनुुसार नै राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सुनको कोटा वृद्धि गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय विभागले सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गर्दै इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकले आयात गर्ने सुनको दैनिक कोटा २० किलो पु-याइएको जनाएको छ । लकडाउनपछि चैत १९ गतेदेखि राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति घट्न सक्ने भन्दै सुनको कोटा घटाएर १० केजीमा झारेको थियो । सुनको चरम अभाव भइरहेका बेला सुनको कोटा वृद्धि भएपछि सुनचाँदी व्यवसायीले राहत महसुस गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले कोटा वृद्धिले राहत मिलेको हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुनको कोटा शत प्रतिशतले वृद्धि भएको छ, यो सकारात्मक पक्ष हो ।’ त्यसो त अफ सिजनका लागि २० केजी पर्याप्त भए पनि सिजनमा बजारमा दैनिक ३० केजीको माग रहेको उहाँले बताउनुभयो । शाक्यले भन्नुभयो, ‘अफ सिजनमा २० केजीले धाने पनि सिजनमा पुग्दैन, अब सिजन सुरु हुँदैछ, माग बढ्न सक्छ ।’ उहाँले केही समय बजारको अवस्था हेरेर अपुग देखिए फेरि पनि कोटा वृद्धिका लागि आग्रह गरिने बताउनुभएको छ । शाक्यले भन्नुभयो, ‘बजारमा माग कस्तो हुन्छ, केही समय हेर्छां, २० केजीले माग धान्न नसक्ने अवस्था देखियो भने फेरि कोटा वृद्धिका लागि आग्रह गर्नेछौं ।’ वैशाखमा विवाहको लगनका कारण सुनको माग बढ्ने शाक्यको अनुमान छ । विवाहको लगनपछि चाडबाड सुरु हुने भएकाले तिहारसम्म सुनको माग उच्च हुने व्यवसायीले बताउने गरेका छन् ।
व्यवसायीका अनुसार खासगरी वैशाखपछि महिलाहरूको महान् पर्व तीजदेखि भाइटीकासम्म सुनको माग बढी हुने गरेको छ । मागअनुसार आपूर्ति हुन नसकेमा सुनको अवैध कारोबार बढ्ने व्यापारीहरू बताउँछन् ।
गत वर्ष कोरोनासँगै सुनको मूल्य पनि बढेकाले दैनिक १० केजी पनि खपत हुन सकेको थिएन । उच्च मूल्यका कारण नयाँ सुन खरिद गर्नेभन्दा पनि पुरानो सुनको बिक्रीका लागि आउने ग्राहक बढी हुने गरेको व्यवसायीले बताउने गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्य ८६ हजार ५ सय रुपैयाँ छ । अघिल्लो वर्ष प्रतितोला सुनको मूल्य एक लाखको हाराहारीमा पुगेको थियो । कोरोनाको प्रभाव घट्न थालेपछि सुनको मूल्य पनि घट्न थालेको हो ।




















