वर्ल्ड ह्याप्पीनेस रिपोर्ट: भारतीयभन्दा नेपाली धेरै खुसी,पहिलाभन्दा सुध्रियो स्थान।

काठमाडौं := कोरोनाको त्रास र राजनीतिक गन्जागोलले उत्पन्न निराशाबिच पनि वर्ल्ड ह्याप्पीनेस रिपोर्टमा सूचीमा नेपालले स्थान सुधार गरेको छ। नेपालीहरू भारतीयभन्दा बढी खुसी देखिएका छन्।

संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट सल्युसन नेटवर्कले शनिबार वर्ल्ड ह्याप्पीनेस डेको अवसर पारेर जारी गरेको वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०२१ का अनुसार संसारका खुसी मुलुकहरूको सूचीमा नेपालको स्थान सुध्रिएको हो।

फिनल्याण्ड लगातार चौथोपटक पहिलो नम्बरमा छ। नेपाल ८७ औं स्थानमा छ। गत वर्ष नेपाल ९२ औं स्थानमा थियो। सन् २०१७ मा नेपाल १०१ स्थानमा थियो। यसपटक छिमेकी मुलुकहरू चीन ८४ र भारत १३९औं स्थानमा छन्। एसियाली मुलुक चीन र नेपालले सुखी र खुसी हुनेमा आफ्नो स्थान सुधार गरेका छन्।

गत वर्ष चीन ९४औं, भारत १४४औं, र पाकिस्तान ६६ औं स्थानमा थिए। तुलनात्मकरूपमा चीनले आफ्नो स्थान अस्वभाविकरूपमा सुधारेको छ।

यसपटकको सूचीमा डेनमार्क, स्वीटजरल्याण्ड, आइसल्याण्ड, र हल्याण्ड क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा छन्। सबैभन्दा खराब अवस्था अफगानिस्तानको छ, जो जिम्बावे र रुवान्डाभन्दा पनि मुनि छ। सुखी र खुसी मुलुकको संसारको टप टेनमा नर्वे, स्वीडेन, लक्जम्वर्ग, न्युजिल्याण्ड र अष्ट्रिया छन्।

विश्वका ठूला आर्थिक महाशक्ति राष्ट्रहरु अमेरिका १९ र जापान ५६ नम्बरमा रहेको रिपोर्टमा उल्लेख छ। मालदिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५ र श्रीलंका १२९ नम्बरमा परेका छन्। बितेका वर्षभन्दा यो पटक थुप्रै मुलुकको नाम सूचीको नम्बरमा निकै तल-माथि परेका छन्। कोरोनाको विश्वव्यापी असरले अर्थतन्त्र प्रभावित हुनुको सोझो मर्का जनतालाई परेको छ। धेरैको रोजगारी गुमेको छ। थुप्रै कलकारखाना प्रभावित भएका छन्। यसको असर जनताको दैनिकीमा पर्दा सुखी र खुसी हुनेहरूको संख्या घटेको छ।

कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राख्दै यसपटक वर्ल्ड ह्याप्पीनेस २०२१को दुई प्रकारको रिपोर्ट बनाइएको छ। एउटा रिपोर्ट २०१८ देखि तीन वर्षका लागि तयार गरिएको सर्वेक्षणको औसत नतिजा समेटिएका छन्।

अर्को रिपोर्टमा सन् २०२० को वर्षलाई मात्रै केन्द्रमा राखिएको छ, जसबाट मुलुकहरूको जनजीवनमा कोभिड १९ को असर पनि पत्ता लगाउन सकियोस्। दुवै प्रतिवेदनका उत्कृष्ट १० को सूचीमा फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, सवीटजरल्याण्ड, हल्याण्ड, नर्वे, स्वीडेन, न्युजिल्याण्ड र अष्ट्रियाका नाम छन्।

सूचीलाई हेर्दा जनतालाई सुखी-खुसी बनाइराख्न र कोरोनाको सामना गर्न आत्मविश्वासको मुख्य भूमिका देखिन्छ। जुन जुन देशमा आर्थिक असमानता कम छन्, उनीहरूले कोरोना नियन्त्रणमा पनि धेरै सफलता पाएका छन्। उनीहरू धेरै खुसी पाइएको छ। संक्रमणको दर बढ्दा पनि सरकारले आपूर्ति व्यवस्था सुदृढ बनाएका मुलुकको स्थान सुधार भएको देखिएको छ।

फिनल्याण्डले कोभिड-१९ नियन्त्रण गर्न लकडाउन गर्नै परेन। खोप विकास भएर प्रयोगमा आएपछि त्यहाँको जनजीवन अझ सहज भयो।

यसपटकको २१२ पृष्ठको रिपोर्टका अनुसार कोभिड नियन्त्रणका लागि लकडाउन गरिएका मुलुकमा जनताको खुसीको मात्रा फरक परेको छ। खोप सहज बनाइएपछि जनजीवन सहज भयो। खुसी फर्कियो।

फिनल्याण्डमा कोभिडले मृत्यु हुनेको संख्या निकै कम रह्यो। अस्पताल भर्ना हुने प्रति १० लाख जनामध्ये मृत्यु १५० भन्दा कम भयो। यसको तुलनामा विश्वस्तरमा १० लाख बिरामी बराबर मृत्यु हुनेको संख्या करिब ९८० रहेको देखिएको छ।#पहिलोपोस्ट