काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशलाई स्विकार गर्दै अब साविक नेकपा एमालेको बैठक आव्हान गर्ने बताउनु भएको छ ।
सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले एमालेको बैठक बोलाउने बताउनु भएको हो ।
‘अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समा लैजान्छ । अब नेकपा एमालेको बैठक बस्छ’, बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उध्दृत गर्दै बैठकमा सहभागी एक सांसदले भन्नुभयो । उहाँले केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि जानकारी गराउनु भएको थियो ।
केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि प्रधानमन्त्री ओलीले बताउनु भएको थियो । राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय गर्ने पनि उहाँले बताउनु भयो ।
त्यो विशेष निर्णय भनेको राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचनबाट जितेका प्रतिनिधिहरुलाई जोगाउनेबारे नयाँ विधेयक ल्याउनुपर्ने हुनसक्ने ओलीको भनाइ थियो । ‘माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने हुन्छ । म त्यो एक महिनाभित्र लिन्छु’, ओलीले भन्नुभयो ।
आइतबार बसेको बैठकलाई भने एमाले दलको बैठक भनिएको थिएन ।




















