फुटबलको पहिलो फ्रेन्चाइज लिग वैशाखमा।

काठमाडौं:= नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता वैशाख दोस्रो हप्ताबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सुपर लिग वैशाख ११ गतेबाट सुरु हुने जनाएको छ ।

दुई वर्षअघि घोषणा भएको लिग वैशाखमा हुने भएको हो । आयोजकले प्राविधिक र कोरोनाका कारण दुई वर्षअघि लिग सुरु गर्न नसकेको जानकारी दिएको हो । २०७५ पुसमै उक्त लिग आयोजना गर्ने भनेर आयोजकले एन्फासँग सम्झौता गरेको थियो ।

‘रंगशाला तयार नहुँदा र कोभिड–१९को कारण समयमा प्रतियोगिता सुरु गर्न सकेका थिएनौं । अहिले आन्तरिक तयारी र छलफलपछि लिगको घोषणा गरेका छौं,’ शर्माले भन्नुभयो, ‘यो प्रतियोगिता अहिलेसम्मको नेपाली निजी क्षेत्रले आयोजना गर्ने प्रतियोगिताभन्दा ठूलो र आकर्षित हुनेछ ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख २५ गतेसम्म सञ्चालन हुने आयोजक नेपाल स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले जानकारी दिनुभयो । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा सात प्रदेशबाट प्रतिनिधित्व गर्नेगरी विभिन्न शहरबाट सात टोलीको सहभागिता हुने उहाँले बताउनुभयो ।

फ्रेन्चाइजी टोली र टोली मालिकको नाम केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । आगामी दुई हप्ताभित्र सम्पूर्ण तयारी सम्पन्न गर्ने आयोजकले जनाएको छ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् ।

शर्माले टोलीका लागि खेलाडीको छनोट अक्सनबाट हुने जनाउनुभयो । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ । खेलाडीको चार श्रेणी हुनेछ । लिगमा एक टोलीले तीन विदेशी खेलाडी राख्न पाउनेछन् । जसमध्ये दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउनेछन् ।

खेलाडीको श्रेणी एन्फासँगको सहकार्यमा छुट्याइने आयोजक शर्माले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भनेपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग आयोजनाका लागि वार्षिक क्यालेण्डरमा दुई महिनाको समय दिइएको बताउनुभयो । उहाँले लिगले नेपाली फुटबलको विकासमा महŒवपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

‘लामो समयपछि मिति तय भएको छ । दुई हप्तामा टिम तय हुनेछ । हामीले वार्षिक कार्यक्रममा दुई महिनाको समय छुट्टाएको छौं,’ उहाँले भन्नुभयो, ‘सहकार्य र व्यवस्थित बनाउन छलफल गरिरहेका छौँ ।’ उहाँले शहीद स्मारक लिग र नेसनल लिगलाई पनि एन्फा सँगसँगै अघि बढाउने बताउनुभयो ।

प्रतियोगिताबाट हुने आम्दानी फुटबल र युथ लेभलको विकासमा खर्च गरिने प्रतिबद्धता आयोजकले जनाएको शेर्पाले बताउनुभयो । आयोजक नेपाल स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत शर्माले यसवर्ष काठमाडौंमा प्रतियोगिता आयोजना भए पनि अर्को वर्षदेखि होम एण्ड अवेका आधारमा प्रदेशमा लिग सञ्चालन गराउने बताउनुभयो ।