कँगोमा इटालियन राजदूत लुका एत्तानासियाको हत्या।

एजेन्सी := प्रजातान्त्रिक गणतन्त्र कँगोका लागि इटालीका राजदूत लुका एत्तानासियाको कँगोको पूर्वी भागमा सोमबार भएको एक आक्रमणमा ज्यान गएको इटालियन विदेश मन्त्रालयले जनाएको छ । गोमानजिक संयुक्त राष्ट्र संघको गाडीमा यात्रा गरिरहेको अवस्थामा भएको गोली प्रहारमा घाइते हुन पुगेको उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

उनी चढेको गाडी संयुक्त राष्ट्र संघको विश्व खाद्यान्न कार्यक्रम (डब्ल्यूएफपी) को रहेको र उनको साथमा यात्रामा रहेका एक जना सैनिक प्रहरी अधिकारी र अर्को तेश्रो व्यक्तिको पनि मृत्यु भएको स्थानीय सञ्चार–माध्यमले जनाएको छ ।घटनास्थल नजिकको भिरुंगा नेसनल पार्कका अधिकारीहरूका अनुसार अपहरण प्रयासको क्रममा यो आक्रमण भएको हुनुपर्दछ ।

रुवान्डा र युगान्डाको सिमानानजिक रहेको सो पार्क वरपर सशस्त्र लडाकु समूहहरू सक्रिय रहेको बताइएको छ । कंगोको पूर्वी भागमा नियमितरूपमा छापामार समूहहरूका बीच पनि भिडन्त हुने गरेको जनाइएको छ । त्यहा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका ठूलो संख्यामा फौज परिचालित छन् ।