बिरगंज := देशव्यापी रुपमा संचालन गरिएको कोरोना विरुद्धको खोप लगाउने अभियान अन्तर्गत वीरगन्ज स्थित नारायणी अस्पतालमा पनि शुरु भएको छ।
नेपालमा कोरोना विरुद्धको खोप शुभारम्भ गरेसँगै प्रदेश २ को ८ वटै जिल्लामा संचालित ९ वटा खोप केन्द्रहरुमा बुधबारदेखि औपचारिक रुपमा खोप अभियान शुभारम्भ गरिएको हो।
भारत सरकारको अनुदानमा नेपाल सरकारले प्राप्त गरेको कोरोना विरुद्धको १० लाख डोज खोपमध्ये प्रदेश २ सरकारले प्राप्त गरेको ३४ हजार ८ सय ४ डोजमध्ये वीरगन्ज स्थित नारायणी अस्पताललाई ५ हजार ५ सय २० डोज खोप हस्तान्तरण गरिएको छ ।

सोही क्रममा बिरगंजस्थित नारायणी अस्पतामा संचालित खोप केन्द्रमा प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा नारायणी अस्पतालमा आयोजित एक कार्यक्रमका बीच कोरोना बखत फ्रन्टलाइनमा खटेकी नारायणी अस्पतालकी स्वास्थ्यकर्मी हेमा थापालाई पहिलो खोप दिएर अभियानको शुभारम्भ गरिएको थियो।

नारायणी अस्पतालले प्राप्त डोजहरुमध्ये पहिलो चरणमा फ्रन्ट लाइनरमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी तथा एम्बुलेन्स चालकहरुलाई खोप लगाइनेछ भने दोश्रो चरणमा सर्वसाधाणहरुलाई खोप लगाइने प्रदेश २ का खोप प्रमुख डा.मदन कुमार उपाध्यायले जानकारी दिए ।
उनका अनुसार यो खोपको दुईवटा डोज दिइन्छ, पहिलो चरणमा लगाएकाहरुले पुनः चार हप्तापछि दोश्रो डोज लगाउने पर्ने हुन्छ । नारायणी अस्पतालमा संचालन गरिएको खोप केन्द्रहरुमा फ्रन्ट लाइनमा खटेकाहरुलाई ५ दिनभित्र खोप लगाइ सक्ने लक्ष्य रहेको बताइएको छ।
खोप लगाउनका लागि आई.एम.यु.मा दर्ता भएकाहरुलाई मात्रै लगाइने भएकोले त्यहाँ दर्ता नभएका फ्रन्टलाइनमा खटेकाहरुले गएर दर्ता गराउन आग्रह समेत गरिएको छ । खोप लगाउँदा कुनै किसिमको साइडइफेक्ट नहुने भएकोले ढुक्कसँग खोप लगाउन प्रदेश २ का खोप प्रमुख डा. उपाध्यायले आग्रह गरेका छन् ।

उनका अनुसार कुनै पनि खोप लगाउँदा साइडइफेक्ट त हुन्छ नै तर त्यस्तो ठूलै दुर्घटना हुने किसिमको साइडइफेक्ट नहुने भएकोले आत्ति हाल्नुपर्ने अवस्था नरहेको बताए । उनका अनुसार यो डोज लगाउँदा केही मापदण्डहरु छन्, कसले लगाउन पाउँछ, कसले लगाउन पाउँदैन, त्यो सबै जानकारी लिएर खोप लगाउँदा कुनै किसिमको साइडइफेक्ट नहुने उनको भनाई छ ।
डा. उपाध्यायका अनुसार १८ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, एलजी भएका व्यक्ति, गम्भिर अवस्था भएर अस्पताल भर्ना भएकाहरुले खोप लगाउन नमिल्ने भन्दै एच।आई।भि। एड्का विरामीले पनि लगाउन मिल्दैन तर क्यान्सर पीडित, उक्त रक्तचाप, मधुमेह जस्ता विरामीहरुले लगाउन मिल्ने बताए ।
खोप उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का विघटित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमारलगायतको पनि उपस्थिति रहेको थियो ।




















