काठमाडौं := नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ। कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो। कतारसँग नेपालको श्रम सम्झौता भए पनि नेपाली युवालाई सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन।
अहिलेसम्म नेपालले मलेसिया, सिंगापुर र भारतसँग मात्र नेपाली युवालाई सुरक्षा निकायमा भर्ना हुन दिनेगरी सहमति दिएको छ। नेपाल र यी तीन मुलुकबीच यसबारे सम्झौता पनि भएका छन्। तर कतारसँग अहिलेसम्म यस्तो कुनै सम्झौता भएको छैन।

कतारले नेपाली युवालाई प्रहरीमा भर्ना गर्न चाहेपछि नेपालले यसबारेमा चासो देखाइसकेको छ। कतारस्थित नेपाली राजदूतावासले नेपाली युवालाई कतार प्रहरीमा भर्ना गर्ने हो भने दुई देशका सरकारी निकायबीच सहमति र निर्णय भई संस्थागत रूपमा काम सुरु गर्नुपर्ने धारणा कतार सरकारसमक्ष राखेको छ। तर कतारले वास्ता नगरी अवैध रूपमा नेपाली युवालाई प्रहरीमा भर्ना गरिरहेको छ। नेपालका केही मेनपावर कम्पनी र व्यक्तिहरूले कतारलाई सहयोग गरिरहेका छन्।
त्यस्तै यता कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा अन्तर्वार्ता लिएर श्रमिक पठाउन खोज्ने एसओएस म्यानपावरको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका छन् ।



मङ्सिर ८ गते वैदेशिक रोजगार विभागले डिमाण्डको पुर्व स्वीकृति नलिई अवैध रूपमा कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा एसओएसमा छापा मारेको थियो ।
उक्त म्यानपावरले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको तथ्य विभागले छापा मार्ने क्रममा भेटेपछि ६ महिनाका लागि कारोबार रोक्का गरेको थियो ।
तर विभागको उक्त निर्णयलाई श्रममन्त्री चौधरीको मन्त्रीस्तरको निर्णयले उल्ट्याइदिएका हुन् । आर्थिक चलखेलका आधारमा कारवाही फुकुवा गर्ने निर्णय भएको वैदेशिक रोजगार विभाग श्रोतले बताएको छ ।




















