पाँचथर:= प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले दश वर्ष पछि काठमाडौंको मूलपानीबाट पक्राउ गरेको छ ।
पाँचथरको सदरमुकाम फिदिम बजार स्थित तुम्रोक होटल एण्ड लज बाट प्रेमिकालाई लगी अर्को दिन गोली हानी हत्या गरी फरार रहेका कुमुकहाङ भनिने पवन लिम्बुलाई प्रहरीले बिहीबार मूलपानीबाट पक्राउ गरेको हो ।
पवनले १० वर्षअघि प्रेमिका सुष्मा तुम्बाहाङ्फेलाई गोली हानी हत्या गरेका थिए । मृतक सुष्मा फिदिम नगरपालिका वडा नम्बर ६ सिवाकी २४ वर्षिय युवती हुन् ।
ब्रिटिस सेनामा भर्ना हुने पक्रियाका लागि पवन ताप्लेजुङबाट झापा आएका थिए । उनीसँगै ती किशोरी पनि झापा आएकी थिइन् । ब्रिटिस सेनाको भर्ना प्रक्रियामा सहभागी पवन सुष्मासँगै फिदिम गएका थिए । एक रात त्यहीँ गेस्ट हाउसमा दुवै जना बसेकोमा भोलिपल्ट पवन सुष्मालाई गोली हानी फरार भएका थिए ।
प्रहरीको अनुसन्धानमा उनी विवाह गरेर काठमाडौंमा बस्दै आएको खुलेको छ । ताप्लेजुङ स्थायी घर भएका २७ वर्षीय पवन विवाहपछि मूलपानीमा लुकिछिपी बस्दै आएको खुलेको हो ।
थप अनुसन्धान गरी मुद्दा चलाउन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय पाँचथर ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताउनुभयो ।




















