काठमाडौं:= राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा सत्यमोहन जोशी, नीर शाहदेखि आकाश श्रेष्ठसम्मका ३० भन्दा बढी कलाकारको अभिनय छ । सच्चा नेपालीको गुण बनाउने गीतमा देविका बन्दना र राजन इशानको स्वर छ । आनन्द अधिकारीको रचना रहेको गीतमा संगीतसमेत राजनकै छ ।
गीतको भिडियोको निर्देशन भने अभिनेत्री तथा निर्माता रोशनी केसीले गर्नुभएको हो । उहाँले चारी दिन लगाएर लोकतन्त्र पार्क, पाटन, पशुपति क्षेत्रमा आदिमा गीत सुटिङ गरिएको जानकारी गराउनुभयो । ‘कलाकार जुटाएर काम गर्न एकदमै गाह्रो थियो । तर, आज जताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर काम गरेका हौं,’ रोशनीले भन्नुभएको छ, ‘यसले नेता तथा कार्यकर्तालाई पनि झक्झक्याउने विश्वास लिएकी छु ।’
चलचित्र ‘यात्रा’का निर्माता चिजकुमार श्रेष्ठको निर्माण रहेको गीतको भिडियोमा संस्कृतविद्ध सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दीलिप रायमाझी, गायिका देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाललगायतको अभिनय समेटिएको छ । रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । भिडियोमा अर्जुन जिसीको सम्पादन र रेनिश फागोको कलर करेक्सन रहेको छ ।




















