[ आरएन चौधरी थारु ]
दोहा (कतार):= कतारमा दोहामा अवस्थित नेपाली दूतावासले रोजगारी गुमाउनुको साथै अन्य विभिन्न कारणले नेपाल फर्केका १४ जना नेपाली कामदारले रोजगारदाता कम्पनीबाट पाउन बाँकी कतारी रियाल १ लाख ४४ हजार ६९ , नेपाली रु . ४४ लाख भन्दा बढी रकम अन्ततः नेपाल पठाइएको छ।
नेपाली दूतावासले जारी गरेको सुचनामा जनाइए अनुसार त्यसरी रकम पठाइएकामा १२ जना अल बन्दारी ईञ्जिनियरिंग कम्पनीमा र अन्य २ जना अल डल्ला क्लीयरिंग एण्ड कन्ट्राक्टिङ कम्पनीमा काम गरेर स्वदेश फर्केका नेपाली कामदारहरु रहेका छन्।
पठाइएका तलब रकम पाउनेहरुमा क्रमशः अल डल्ला क्लीयरिङमा काम गरेका फूलमाया तामाङ (दोलखा) तथा सञ्जय सुतार कार्की (भोजपुर) रहेका छन् ।
त्यसैगरी अल बन्दारीमा काम गरेर फर्केका रमला बुढामगर (प्यूठान), रियाज अहमद खान (बाँके), ईशरायल नाउ (बाँके), सञ्च कुमार लिम्वू (झापा), रोशन थापा (संखुवासभा), रेवन्त विके (सल्यान), हेमराज रोक्का (सल्यान), राजु तामाङ (खोटाङ), गण्ट बहादुर गुरुङ (तनहुँ), शत्रुघन यादव (धनुषा), अशोक कुमार मण्डल (धनुषा) तथा नैनवीर विके (रुकुम) रहेका छन्।


उनीहरुले तलव सुविधा लगायत नियमानुसार प्राप्त गर्नुपर्ने बाँकी रकम कतारी रियाल . १ लाख ४४ हजार ६९ ( नेपाली रु. ४५ लाख ) बराबरको रकम कन्सुलर सेवा विभाग, काठमाडौंमा पठाइएको दूतावासले सुचनामा उल्लेख गरेको छ।
सो रकम कन्सुलर सेवा विभागबाट जिल्ला जिल्लामा रहेको प्रशासन कार्यालयमा पठाएपछि प्रशासन कार्यालयमै गएर आ-आफ्नो रकम ती कामदारहरुले प्राप्त गर्न सकिनेछन।
साथै यस् बारे थप जानकारी लिनको लागी कन्सुलर सेवा बिभागको वेबसाईट www.nepalconsular.gov.np मा गैई , compensation amount status मा राहदानी नम्बर प्रबिष्ट गरि हेर्न सकिने वा बिभागको फोन नम्बर . ४२६०१०८ / ४२६०१२१ मा सम्पर्क गरि जानकारी लिन सकिने दूतावासले जनाएको छ।



















