युएईमा नयाँ स्वरुपको कोरोना भाइरस फ़ेला, नेपाली श्रमिकलाई सतर्क रहन दूतावासको आग्रह।

युएई (दुबई):= संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा विगत केही समयदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको भन्दै सावधानी अपनाउन युएई अबुधाबी स्थित नेपाली दूतावासले सम्पुर्ण नेपालीहरुमा आग्रह गरेको छ।

विशेषगरि युरोपेली देशहरूमा देखा परिरहेको कोरोना भाइरस (कोभिड-१९) को यो नयाँ स्वरूप अझ बढी संक्रामक रहेको भन्दै सामाजिक दूरी कायम गर्ने, सामाजिक जमघट, भीडभाड आदिबाट टाढै रहने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, मास्क एवं स्यानिटाइजरको नियमित प्रयोग गर्नेलगायतका कार्यहरू गर्न दुतावासले एक सुचना जारी गर्दैै सम्पुर्ण नेपालीहरुलाई आग्रह गरेको हो ।

यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार गएकाे जनवरी ९ तारिखमा एकै दिन दुई हजार ९ सय ९८ जनामा नयाँ सङ्क्रमण देखिएको छ।

[ दूतावासले जारी गरेको सूचना ]

यूएई सरकारले अवलम्बन गरे बमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउन यूएईमा रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ । यूएईका स्वास्थ्य निकाएका अनुसार पछिल्लो समयमा देखा परेको कोरोनाको नयाँ स्वरुप बढी सङ्क्रामक रहेको छ।

यूएई सरकारले कोरोना विरुद्धको भ्याक्सिन सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा निःशुल्क रूपमा उपलब्ध छ । यूएईमा रहेका नेपाली नागरिकले पनि ती केन्द्रमा गएर भ्याक्सिन लगाउन सक्ने दूतावासले जनाएकाे छ।