काठमाडौं:= पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएर अधिकांश स्थानमा वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार बिहानैदेखि देशभरको मौसममा बदली भएको छ । मौसम बदलीसँगै देशभर चिसो पनि बढेको छ । महाशाखाका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा छिटफुट वर्षा र उच्च पहाडी भेगका साथै हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार कर्णाली प्रदेशको पहाडी भू–भागमा हल्का वर्षा हुनुका साथै हिमाली भू–भागमा हिमपात भएको छ । पूर्वी तराईका एकदुई स्थानमा हुस्सु र कुहिरो लागेको थियो ।
महाशाखाका अनुसार आगामी बुधबारसम्म नै देशभरको मौसममा बदली हुनेछ । बुधबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।
चिसोसँगै अधिकांश क्षेत्रमा हिमपातसमेत भएको छ । जुम्लामा हिमपात हुँदा यहाँका किसान हर्षित भएका छन् । जुम्लामा आइतबार राति तीन बजेदेखि हिमपात सुरु भएको थियो । सदरमुकाम खलंगालगायत जिल्लाको उच्च क्षेत्रमा हिमपात हुँदा त्यहाँका स्थानीयवासीको जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताउनुभयो । हिमपात भएसँगै चिसो बढेपछि गाउँघरबाट सदरमुकाम खलंगामा अध्ययन गर्न आएका विद्यार्थीलाई आवतजावतमा कठिनाइ भएको तिला गाउँपालिका–१ राराबाट एसइईको तयारी गरिरहेका विद्यार्थी नमराज रावतले बताउनुभयो । खलंगामा वर्षा र हिउँ परिरहेको छ ।
यो वर्ष जुम्लामा पहिलोपटक हिमपात भएको हो । विगतमा मंसिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात सुरु भएपछि यहाँका किसानले उत्पादन गरेको गहुँ, जौ र हिउँदे बालीदेखि स्याउका विरुवालाई पानीको मात्रैले उत्पादनमा फाइदा गर्न वरिष्ठ किसान हरिप्रसाद रोकायाले बताउनुभयो । हिमपातपछि जुम्लाको तापक्रम माइनसममा झरेको छ । हिमपातले पशुवस्तु गोठबाट निकाल्नसमेत गाह्रो भएको यहाँका स्थानीयवासी बताउँछन् ।
हिमपात हुँदा नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईसेवा बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ । लामा तथा छोटा दूरीका यातायातका सवारीसाधन नचलेको कर्णाली यातायात बस समितिका अध्यक्ष मीनबहादुर रावलले बताउनुभयो । यस्तै, कर्णाली प्रदेशका हुम्ला, डोल्पा, मुगु र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली जिल्लाहरूमा पनि सोमबार बिहानैदेखि हिमपात भएको छ ।
महाशाखाको विवरणअनुसार जुम्लामा सबैभन्दा धेरै वर्षा भएको छ । जुम्लामा २३ दशमलव आठ मिलिमिटर वर्षा भएको छ भने जुम्लापछि विराटनगरमा धेरै वर्षा भएको छ । विराटनगरमा ११ दशमलव दुई मिलिमिटर, डडेल्धुरामा १० मिलिमिटर, धनगढीमा नौ दशमलव सात मिलिमिटर, दीपायलमा ६ दशमलव सात मिलिमिटर वर्षा भएको छ ।
महाशाखाले चिसोबाट बच्न पनि अनुरोध गरेको छ । हुस्सु कुहिरो र चिसोका कारण यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरूबाट बच्न पनि महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार पश्चिम तराई कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम मध्यतराईमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा पूर्व तराईमा सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा हुस्सु लाग्ने र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ ।
हिमाली जिल्लाहरूमा भएको हिमपातले जनजीवन कष्टकर बनाएको छ । हिमपातका कारण चिसो बढेपछि त्यहाँको जनजीवन कष्टकर हुँदै गएको हो । हिमाली जिल्लामा हिमपात र तराईका जिल्लामा हुने शीतलहरका कारण चिसो मौसममा जनजीवन कष्टकर हुने गर्छ ।




















