काठमाडौं := अचेल न्युरोड गेट कट्न नपाउँदै मान्छेहरूका अनेकन बान्कीले ध्यान खिच्छ। गेटबाट देब्रे मोडिएर संकटा मन्दिर जाने बाटोमा कोही हाँसिरहेका छन्, कोही नाचिरहेका। कोही गीत गाइरहेका त कोही विभिन्न पोज दिइ रहेका । को’रोनापछि लगभग सुनसान यो गल्लीमा अचेल ठेलामठेल गर्दै मान्छेको घुइँचो छिचोल्नुपर्छ।
यो भिडको कारण हो यहाँ सजाइएका रंगीविरंगी छाता। दुई साताअघि स्थानीयवासी, संकटा क्लब र वडाको सहकार्यमा यो सडकको माथिमाथि रंगीविरंगी छाता झुन्ड्या’इएको हो। गल्लीको वास्तविक नाम टेबहाल भए पनि दुई साता मै यसले नयाँ नामहरू पाएको छ- ‘अम्ब्रेला स्ट्रिट, भाइरल रोड, टिकटक रोड।’ यहाँ घुम्न आउनेहरूले टिकटकमा भिडिओ राखेपछि सामाजिक सञ्जालबाट यो ठाउँ रातारात भाइरल बनेको छ।


संकटा क्लब र स्थानीय व्यापारीहरूले व्यापारिक माहोल सिर्जना गर्न छाता राखी आकर्षण थपेका हुन्। तर योजना अनुसार काम भएन। डेढ सय मिटर सडकमा छाता टाँगिएको एक साता मात्रै हुँदा यहाँ दैनिक १५ हजार घुम्न आउने गरेको एक फुटपाथ व्यापारीले बताए। फुटपाथमा कपडा व्यापार गर्दै आएका उनले भने, ‘मानिसहरू आउनु राम्रै हो।
मान्छे आउँछन्, चहलपहल बढ्छ, व्यापार बढ्छ भन्ने नै सोचेर छाता राखिएको थियो। तर यहाँको भिड देखेर नियमित ग्राहक पनि तर्किएर जान्छन् ।’ छाताले सजिएको बाटो टिकटक प्रयोगकर्ता र आन्तरिक पर्यटकले खचाखच छ। सवारी चालक र बटुवाले बाटो नपाउने अवस्था छ।






















