आज उधौली पर्व, धान्य पूर्णिमा, तमु ल्होसार, योमरी पुन्ही र ज्यापु दिवस।

काठमाडौँ:= विविध धर्म संस्कृतिका धनी हामी हरेक दिन कुनै न कुनै पर्व मनाइरहेका हुन्छाँै । कला संस्कृति तथा विभिन्न जात जातिका धनी हामी नेपाली प्रायः केही न केही चाड पर्व, उत्सव मनाइरहन्छौ । विविध जात जाति र धर्मावलम्बी रहेको होम्रो देशमा यस्ता चाड पर्वले विविधता भित्रको एकताको सन्देश प्रवाह गर्ने गर्दछ । यस्तै, आज पनि उधौली पर्व, धान्य पूर्णिमा, तमु ल्होसार, योमरी पुन्हि र ज्यापु दिवस रहेका छन् । 

मंसिर शुक्ल पूर्णिमाको दिन किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । यो पर्व किराँत समुदायका राई, लिम्बू, सुनार र याक्खा जातिले संयुक्त रूपमा मनाउने गर्छन् । किराँत समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । किराँत समुदायले वैशाख शुक्लपक्षमा बाली लगाउने बेला उभौली पर्व मनाउने र मंसिरमा अन्नबाली घर भिœयाएपछि प्रकृति र पितृलाई स्मरण गर्ने परम्पराअनुसार उधौली मनाउने गरिन्छ । उभौलीमा खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्यांग्र्रा, चराचुरुंगीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रूपमा मनाउने गरिन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलानाच लगायतका नाच नाचेर मनोरञ्जन गरिने परम्परा रहेको छ । यो पर्वलाई लिम्बूहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलष्याँदर भन्छन् ।

आज योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा पर्व मनाइँदैछ । नेवार समुदायले योमरी पूर्णिमा पर्व मनाउँदैछन् । योमरीको त्रिकोणात्मक आकारले षट्कोणको अर्धभागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिविम्बको रूपमा लिइन्छ । पानीको देवताका रूपमा काठमाडौंवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरी चढाउने परम्परा चली आएको छ । लक्ष्मी, गणेश, कुमार, कुवेर लगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ । धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ ।

आजैको दिन ज्यापू दिवस पनि मनाइने गरिन्छ । ज्यापू सस्कृतीको रक्षार्थ विसं २०६१ सालबाट यस दिवस मनाउन थालिएको हो ।

यस्तै, पूर्णिमा अर्थात् धान्य पूर्णिमा नामैले पनि यो पर्वमा धानको विशेष महŒव भएको बुझिन्छ । धानलाई लक्ष्मीको रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ । यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ । विशेषगरी पहाडी भेगमा आज गोठपूजा गर्ने चलन छ । कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने परम्परा छ । स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ । कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाउने गरिन्छ । नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पीठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा छ । यस्तै, आज कतिपय समुदायमा देवाली पूजामा बोका कुखुरा, हाँसको बलिदिने प्रचलन पनि रही आएको छ । 

आज तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछार मनाइँदै छ । बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौं उपत्यकालगायत गुरुङ बसोबास भएका देशका विभिन्न भागमा मनाइँदैछ । तमु ल्होछार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रूपमा लिइन्छ । 

नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातिले मनाउने गर्छन् । गुरुङ जातिले आज पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने संस्कार रही आएको छ ।

‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ ।

यी पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, अन्य मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, अन्य दलका प्रमुख नेता तथा अन्य नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ । ‘सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धनको अपेक्षा गर्दै सम्पू्र्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ’, प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको छ ।