‘मेरो लागि विशेष ल्होसार’

काठमाडौं:= आज ल्होसार पर्व । नेपालको विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विशेषतः तिब्बती, नेपालको शेर्पा, गुरुङ र तामाङ जातिले नयाँ वर्षको रूपमा मनाउने नेपालको एक मुख्य पर्व हो । लोसार बौद्ध धर्म अनुयायी तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातिले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् । यो चाड नेपालका विभिन्न जातजाति, धर्मालम्बी खासगरी मंगोल मूलका केही प्रजातिहरूले धुमधामका साथ मनाउँछन् । यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातिले यो चाड मनाउन थालेका छन् । 

यसैबीच नेपाली गीतसंगीतकै मोडल रश्मि तामाङले आफूलाई ल्होसार पर्व विशेष लाग्ने बताउनु भएको छ । अन्य विभिन्न चाडपर्व मनाउँदै आएको भए तापनि ल्होसार पर्व आउँदा छुट्टै उमंग थपिने रश्मिको भनाइ छ । रश्मि भन्नुहुन्छ, ‘अन्य थुप्रै चाडपर्व मनाउँछौं तर जब ल्होसार पर्व आउँछ, मनमा एक किसिमको उमंग थपिन्छ । विशेषगरी ल्होसारको दिन तामाङ जातिको भेषमा नृत्य गर्न निकै मन लाग्छ ।’ आफ तामाङ भए पनि गुरुङ जातिको पोशाक लगाएर ल्होसार मनाउदै आएको उहाँको भनाइ छ । उहाँले अगाडि भन्नुहुन्छ, ‘मेरो प्रिय साथी गायिका कोपिला गुरुङ निकै नजिकको मित्र हुनुहुन्छ, उहाँलगायत हामी केही साथी विगत आठ वर्षदेखि ल्होसार मनाउँदै आएका छौं ।’

रश्मि पछिल्लो ६ महिना अमेरिकाको भ्रमणमा हुनुहुन्थ्यो । यसैसाता नेपाल फर्किनुभएकी रश्मि नेपालमै ल्होसार मनाउन पाउँदा निकै खुशी लागेको बताउनुहुन्छ । रश्मिले नेपाली गीतसंगीतको क्षेत्रमा आठ सय बढी गीतमा मोडलिङ गर्नुभएको छ ।