काठमाडौँ:= नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । संसद विघटन गरेर प्रधानमन्त्रीले इतिहासमा कहिल्यै नमेटिने गल्ती गरेको बताउँदै प्रचण्डले माफी नमिल्ने गल्ती गरेको बताए ।
उनले प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित माफी नमागेसम्म जनताले छुट नदिने बताए । उनले प्रधानमन्त्री ओलीले ‘म अपराधी हुँ भन्दै आफ्ना गलत कमद सच्याएपछिमात्र जनताले माफी दिनेछन् । नत्र यो अपराध इतिहासमा कहिल्यै मेटिने छैन् ।’
प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका छन् । आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उनले बताए ।
‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो । हामीले सच्चिनुभयो होला भन्ने मान्यौं ।’
तर ओली त अझै बयलगाढामै रहेछन् भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अघि भने, ‘केपी ओलीलाई बुझ्न सकिएन, यसमा जनतासँग क्षमा याचना गर्न चाहन्छु ।’ ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको उनको आरोप छ ।




















