[ राम अवतार चौधरी ]
चन्द्रौटा(कपिलवस्तु):= कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको सृष्टि च्याउ फार्ममा शनिबार अपराह्न आगलागी भएको छ । च्याउ फार्ममा लागेको आगोले फार्मका ३ वटा टहरा जलेर पूर्णरूपमा नष्ट भएका हो ।
सो टहरामा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउ समेत खरानी भएको फार्मका सञ्चालक श्यामराज सुवेदीले बताए । उनले आगालागीका कारण करिब रु ३३ लाख बराबरको क्षति भएको जनाए । सञ्चालक सुवेदीले भने “हामी काम गरिरहेका थियौँ, टहरा नजिकै बालबालिका थिए, एक्कासी आगो दन्कियो, आधा घण्टामै सखाप भयो, छिमेकीले पानीको जोहो गर्दागर्दै सबै च्याउ नष्ट भयो” ।
फुसको टहरा भएकाले स्थानीय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको बताईएको छ । बिक्रीका लागि तयार भएको च्याउ नष्ट भएपछि सञ्चालक चिन्तित भएका छन् । बालबालिका खेल्दै गर्दा आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।






















