नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षकमा डेभ व्हाटमर

काठमाडौं:= अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघका महासचिव अशोक नाथ प्याकुरेलले व्हाटमोरलाई जनवरी १, २०२१ देखि लागू हुने गरी प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरिएको जानकारी दिनुभएको हो । 

नेपाल क्रिकेट संघ(क्यान)ले करिब तीन महिना अघि प्रमुख प्रशिक्षक, महाप्रबन्धक, क्रिकेट ब्यवस्थापक, प्रमुख आर्थिक अधिकृतलगायतका पदको लागि विज्ञापन गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)सँगको अनुमतिमा पदपूर्ति गर्नुपर्ने भएकोले प्रकृया लम्बिन पुगेको थियो । 

क्यान स्रोतका अनुसार व्हाटमरलाई मासिक दशदेखि १२ हजार डलर तलब तथा अन्य सेवा सुबिधा दिने गरी नियुक्त गरिएको छ । व्हाटमरसँग श्रीलंका, बंगलादेश, जिम्मबाबवेलगायतका राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको अनुभव रहेको छ ।

त्यसैगरी, संघले रौनकबहादुर मल्ललाई क्रिकेट नेपालका महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई प्रमुख आर्थिक अधिकृत र बिनोद दासलाई क्रिकेट ब्यवस्थापकमा नियुक्त गरेको छ । दासले यसअघि नेपाली क्रिकेट टोलीका कप्तानको जिम्मेवारी सम्हाल्नुभएको छ ।