उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टायो, सांंसद रेशमसंगै लक्ष्मणलाई पनि जन्मकैद!

[ मलाया खबर सहकर्मी ]

कैलाली:= टीकापुर घटनाको मुद्धाबारे उच्च अदालत दीपायलले कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उल्टाईदिएको छ।

उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत दीपायलले आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

कैलाली जिल्ला अदालतबाट सफाई पाएका र कम सजाय तोकिएकाहरुलाई समेत उच्च अदालत दिपायलले दोषी ठहर गर्दै उनीहरुलाई कैद सजाय थप गरेको छ।
यसरी कैद सजाय थप गरिएकाहरुमा कैलाली जिल्ला अदालतको फैसला अनुसार कैद भुक्तान गरेकाहरु पनि छन्।

अदालतले जन्म कैद तोकेको ११ जनामध्ये कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद रेशम चौधरी सहित सात जनालाई जन्मकैदको सजाय सुनाएको छ।

त्यसबाहेक दुई वर्षअघि कैलाली जिल्ला अदालतले तीन वर्षको कैद सुनाएका थारु अगुवा लक्ष्मण थारुलाई पनि उच्च अदालत दीपायलले जन्मकैदको सजाय तोकेको छ।

उच्च अदालतले प्रतिनिधि सभा सदस्य रेशम चौधरी, हरीनारायण चौधरी, प्रदीप चौधरी, बिर बहादुर चौधरी, राजेश चौधरी, सिताराम चौधरी, गंंगाराम चौधरी र लक्ष्मण चौधरीलाई जन्मकैदको सजाय सुनाएको प्रवक्ता राजेन्द्र लुईटेलले जानकारी दिए ।

जन्मकैद सुनाईएका लक्ष्मण थारुलाई यसअघि कैलाली जिल्ला अदालतले तीन वर्षको सजाय सुनाएको थियो । सोही फैसला अनुसार तीन वर्ष कैद भुक्तान गरेपछि लक्ष्मण थारु कारागार मुक्त भएका थिए।

जिल्ला अदालतको फैसला यस्तो थियो :
फरार रहेकै अवस्थामा चौधरी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। निर्वाचनमा ३४ हजार तीन सय ४१ मत पाएकोमा उनको निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार चार सय छ मतमै चित्त बुझाउनु प¥र्यो । त्यस्तै नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार दुई सय तीन मतमै सीमित हुनु प¥र्यो । 

उनी २०७४ फागुन १४ गते अदालतमा हाजिर भएका थिए। त्यस लगत्तै उनलाई पुर्पक्षको लागि थुनामा राखियो। जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते सो मुद्दाको सुनुवाइ गर्दैै रेशम चौधरीसहित १० जनालाई जन्मकैद, एक जनालाई १० वर्ष कैद र ३ जनालाई सफाई दिएको थियो।

घटना घटेको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले चौधरीसहितलाई दोषी भएको ठहर गरेको थियो। सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो। 

थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुराम चौधरीलाई ३ वर्ष जेल सजाय सुनाइएको थियो। उक्त अवधि जेलमा नै काटिसकेकाले उनीहरूलाई रिहा गरिएको थियो।
अदालतले रामनरेश चौधरी, विश्राम कुसी र नुरुल अली जागालाई भने सफाइ दिएको थियो ।

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो।

घटनाको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको थियो। 

२०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रेशम चौधरी कैलाली १ बाट निर्वाचित भएका थिए।

निर्वाचित भएको १३ महिनापछि २०७५ पुस १९ गते चौधरीले सांसद पदको शपथ लिएका थिए। जेलमा रहेका चौधरी शपथ लिएलगत्तै फेरि सांसदको लोगो लगाएर जेल गएका थिए।