जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा।

जनकपुरधाम:= जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा आएको छ । मंगलबार एक समारोहका बीच संघीय सरकारका संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नवनिर्मित आधुनिक टर्मिनल भवनको समुद्घाटन गर्नुभएको हो।

प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो, जुली महतो तथा प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायसहितको उपस्थितिमा ट्रमिनल भवनको समुद्घाटन गर्दै मन्त्री भट्टराईले प्रदेश–२ सरकार र संघीय सरकारबीच कुनै पनि विवाद नरहेको स्पष्ट संकेत दिने मुख्य उदाहरण नै यो टर्मिनल भवन रहेको बताउनुभयो।

सात प्रदेशमध्ये संघीय सरकारको सबैभन्दा राम्रो सम्बन्ध २ नम्बर प्रदेशसँग नै रहेको उहाँको तर्क थियो । जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न पनि यस विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने मन्त्री भट्टराईले बताउनुभयो । साथै जनकपुरधामलाई पोखरा विमानस्थलसँग जोडेर तराई पहाड हिमालको धार्मिक पर्यटनसँगको सम्पर्कका लागि समेत संघीय सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।

यसैगरी सांसद राजेन्द्र महतोले जनकपुर विमानस्थल नभई जनकपुरधाम विमानस्थल नामाकरण गरिनुपर्ने धारणा राख्नुभयो । मन्त्री परिषद्कै बैठकवाट जनकपुरको नाम जनकपुरधाम पारित भइसकेकाले विमानस्थलको नामसमेत सोहीअनुरुप हुनुपर्ने उहाँको जिकिर थियो।

कार्यक्रममा सांसद जुली महतो तथा प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय, प्रदेश सांसद परमेश्वर साह, शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, संघीय मन्त्रालयका सचिव यादव प्रसाद कोइरालासहितका वक्ताले नयाँ टर्मिनल भवनले जनकपुरधाममा विशेषण थपिएको बताउनुभयो । करिब ५३ वर्ष पुरानो पुरानो ट्रमिनल भवन विस्थापित गरिँदै आठ वर्षको निर्माण कार्यपश्चात् यो ट्रमिनल भवनको समुद्घाटन गरिएको छ।