काठमाडौं := वैदेशिक रोजगारीको क्रममा कतार गएका प्रकाश काफ्ले ५ (पाँँच) वर्षदेखि सम्पर्कविहीन भएको भन्दै श्रीमती अनिता काफ्ले घिमिरेले खोजिदिन आग्रह गर्नुभएको छ । झापा जिल्लाको साविक चकचकी गाविस–३ र हाल बाह्रदसी गाउँपालिका–४ सिर्जनाचोक घर भएका काफ्ले २०७२ सालदेखि घर–परिवारको सम्पर्कमा नआएको भनी श्रीमान् खोजिदिन आग्रह गर्दै वैदेशिक रोजगार विभागमा समेत अनिताले निवेदन दिनुभएको छ।
‘कतारको केएफसी कम्पनीमा पहिलोपटक २०६५ मा जानुभएको उहाँ प्रत्येक वर्ष घर आउने–जाने गर्नुहुन्थ्यो ।’ –श्रीमती अनिताले गहभरि आँसु पार्दै भन्नुभयो । आफन्त साथीहरूलाई सबैलाई खोज्न लगाइयो । केही पत्तो नलागेपछि वैदेशिक रोजगार विभागमा निवेदन दिएको उहाँले बताउनुभयो । ‘श्रीमान् सम्पर्कविहीन भएपछि घर–परिवारले पनि बस्न दिएनन्, १३ वर्षकी पढ्दै गरेकी छोरी लिएर २÷३ वटा घरमा काम गर्ने र हस्पिटल सफाइ गर्ने काम गरेर छोरीको पढाइ खर्च र आफूहरु बस्दै आएको कोठाभाडा तिर्दै आएको उहाँले बताउनुभयो।
‘अब त मलाई पनि सुगर, पाठेघरमा समस्यालगायतका बिरामीले
समातेको छ । यस्तो समयमा आर्थिक अभाव त छँदै छ, त्यसमाथि श्रीमान् हराएको पीडा छ ।’ –अनिता भन्नुहुन्छ । विवाहको केही समयपछि श्रीमान्ले बाहिर कोठा खोजी राखेर विदेश गएको र प्रत्येक वर्ष आउने–जाने गरेको अनिताले बताउनुभयो । ‘श्रीमान्–श्रीमतीको सम्बन्ध पनि राम्रै थियो तर उहाँ आएका बेला गाउँ जाने गरिन्थ्यो । पैसा पनि निरन्तर पठाउने गर्नुहुन्थ्यो तर विगत पाँच वर्षदेखि सम्पर्कविहीन भएपछि मेरो र छोरीको बेहाल भयो ।’ –उहाँले आफ्नो दुखेसो पोख्दै भन्नुभयो । माइतीघरमाआफू जेठी छोरी भएको र भाइहरु पनि स सानाभएको हुँदाखोजिदिने बलियो आफन्तनभएको पीडा पोख्नुभयो।
विवाहलगत्तै श्रीमान्कै आग्रहमा घरबाहिर बस्दै आएकी अनिता श्रीमान् सम्पर्कविहीन भएपछि घर पुग्दा घरमा परिवारले एउटा बस्ने कोठासमेत नदिएर लखेटेको गुनासो गर्नुभयो । ‘म बाहिर बसे पनि विदेश हिँडेर कमाएको पैसाले त्यत्रो घर बनाउनुभयो । आज त्यही घरमा बस्न एउटा कोठा पाइनँ ।’ –उहाँले भन्नुभयो । घरमा जेठो छोरो भएका कारण बुबाआमालाई सुख दिन र भाइहरुलाई पढाइ–लेखाइ गर्ने जिम्मेवारी बोकेर वैदेशिक रोजगारीमा जानुभएको उहाँ आज सम्पर्कविहीन हुँदा खोजी गर्ने त परको कुरा त्यही वैदेशिक रोजगारीले कमाएर बनाएको घरमा बस्ने एउटा कोठासमेत पाउन नसकेको उहाँको गुनासो छ।
पछिल्लोपटक २०७२ सालमा गएपछि दुईपटक टेलिफोनमा सम्पर्क भएको र त्यसपछि कुनै सम्पर्क हुन नसकेको अनिताको गुनासो थियो । उहाँले आफूले भेटे–जाने जतिलाई श्रीमान् अवस्था पत्ता लगाइदिन आग्रह गरेको बिलौना गर्नुभयो ।
वैदेशिक रोजगार विभागमा परेका उजुरीलाई सम्बन्धित देशको दूतावासमार्फत खोजिने वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकामणि न्यौपानेको भनाइ छ । ‘हामीलाई आएको निवेदन सम्बन्धित दूतावासमा पठाएका छौं ।’ –न्यौपानेले भन्नुभयो।
त्यस्तै वैदेशिक रोजगारीको क्षेत्रमा निःशुल्क परामर्श दिँदै आएको पिपुल फोरमका अध्यक्ष सोम लुइँटेलले वैदेशिक रोजगारीमा गएर अलपत्र परेका वा सम्पर्कविहीन भएकाहरुको क्षेत्रमा खर्च गर्न वैदेशिक रोजगार कल्याणकारी कोष रहेको बताउनुभयो । ‘वैदेशिक रोजगारको क्षेत्रमा समस्यामा परेका व्यक्तिहरूलाई हालसम्म निःशुल्क कानुनी परामर्श दिँदै आएका छौं र आगामी दिनमा पनि दिनेछौं ।’ – उहाँले भन्नुभयो। भूपराज बस्याल/नेपाल समाचारपत्र




















