धनगढी:= कैलालीको धनगढी उपमहानगरपालिका वडा–९ को एउटा गाउँ गौरीपुर । भारतसँग सीमा जोडिएको मोहना नदीले छुट्याएको छ, गाउँको सीमा । वडा–९ अधिकांश पहाडतिरबाट बसाइँ सरी आएका र राना थारू समुदायको बाक्लो उपस्थिति । त्यही वडाको एउटा गाउँ हो गौरीपुर । आधा शताब्दीभन्दा बढी भइसकेको छ यो गाउँ फँडानी भएको । यही गाउँमा डोटीको दिपायल सिलगढी नगरपालिकाको धामी गाउँबाट बसाइँ सरी आएको पार्की परिवार पनि आएको ५३ वर्ष भइसक्यो ।
धामी गाउँमै बिहेवारी गरेर ७६ वर्षीय भजन पार्की र ६६ वर्षीया मनु पार्की पनि बसाइँ सर्नुभयो । गौरीपुर गाउँमा बस्ती थिएन् । जंगलै जंगल थियो । त्यहीँ जंगल फँडानी गरेर घर खेत बनाउनुभएको थियो श्रीमान् श्रीमती भजन र मनुले । पाँच बिघा जग्गा बनाएको थियो पार्की परिवारले । जतोतसो खेतीपाती गर्दै जीवन धानिरहेका उहाँहरूका गौरीपुर झुपडीमै सात छोराछोरी जन्मिनुभयो । पाँच छोरा र दुई छोरी । हुर्कँदै गए छोराछोरी । आजको दिनमा आइपुग्दा जीवनको उत्तरार्धमा पार्की दम्पतीले मानसम्मान र खुशी पाएका छन् ।
काइँलो छोराले आमाबुबाको नाम फैलाएको छ । काइँलो छोरा गोपीचन्द्र पार्कीले नाममात्रै चम्काएको छैनन् की गाउँघरमा मानसम्मान पनि दिनुभएको छ । यी गोपी तिनै हुन जसले नेपालको १३ वर्षदेखि गुमेको स्वर्ण पदक फिर्ता दिलाउनुभयो । आगामी वर्ष जापानामा हुने ओलम्पिकका लागि पनि नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । ओलम्पिक सहभागीता जनाउन उहाँले निकै मिहिनेत र परिश्रम गर्नुभएको छ ।
ओलम्पिक खेल्न गोपी छनोट भएपछि उहाँका परिवार र गाउँलेहरूमा खुशीयाली छाएको छ । ३० वर्ष उमेर पुगेका उहाँलाई बुबाआमाले बिहेवारी गर्न धेरै ठाउँमा केटी हेर्नुभयो तर उहाँले बिहेभन्दा ओलम्पिक खेल्नुलाई पहिलो प्राथमिकता दिएको आमा मनुले बताउनुभयो । ‘मेरा गुरुले पनि बिहे गरेका छैनन् । म पनि अहिले गर्दैन भन्यो । केटी माग्न गयौं । नाई भनेपछि छाडि दियौं,’ आमाले भन्नुभयो ।
आमा मनुका कुरा सुनिरहेका गोपीका बुबा भजनले थप्नुभयो, ‘म आफैं केटी हेरेर बिहे गर्छु भन्यो । दौड पूरा नभइकन बिहे गर्दैन भन्यो । हामीले त्यसो भए जे गर्छै गर भनेर भन्न पनि छाड्यौ ।’ यस घरका पाँच दाजुभाइमध्ये गोपीबाहेक सबैको बिहे भइसकेको छ । सबैभन्दा जेठा लक्ष्मण घरमै ट्याक्टर चलाउँहुन्छ । माइला जगन्नाथले गाउँनजिकै साइकल मर्मतको पसल चलाउनुभएको छ । साइँला रविन्द्र रोजगारीका लागि भारतको मुम्बई हुनुहन्छ । कान्छो शिवराज पनि गोपीसँगै सशस्त्र प्रहरीमै जागीरे हुनुहुन्छ ।
घरमा बासका नाङ्ला बनाएरै सबै छोराछोरीलाई स्कुल पढाउनुभएको हो, भजन र मनुले । छोराछोरीलेहरूले पढ्दै छोड्दै आफ्नो बाटो समात्नुभयो । त्यसमा सबैभन्दा बढी समयसम्म स्कुल जाने गोपी नै हुन्हुन्छ । गोपीले स्थानीय भवानी माविमा कक्षा ८ सम्म पढ्नुभयो । नाङ्लाहरू बनाएर गोपीका लागि किताब कापी र कपडाको जोहो गरेको भजन सम्झिनुहुन्छ ।
गोपी पढ्ने स्कुल त नजिक थियो तर ट्युसन पढ्न घरबाट पाँच किलोमिटर टाढा जानुपथ्र्यो । दौडमा सौखिन गोपी पहिले साइकल चढेर जानुहुथ्यो । पछि दौडेर पुग्न थाल्नुभयो । चार पाँच कक्षामा पढ्दाखेरी नै गोपीका घरमा मेडल र सिल्डहरू भरिन थालेका थिए ।
दौडमा गोपीको रुचि प्रतिदिन बढ्दै थियो । उहाँ भाले नबास्दै दौडन निस्कनुहुन्थ्यो । कहिलेकाहीँ त राति दौडने सुर चल्थ्यो गोपी चन्द्रलाई । ‘घडीमा कति बज्यो भन्ने थाहा हुन्थेन् भाइलाई । कति दिन त रातिको दुई बजे नै गएर दौड्थ्यो,’ गोपीका जेठा दाजु लक्ष्मणले भन्नुभयो, ‘पछि आर्थिक अवस्थाले पढ्न नपाए पनि अहिले दौडेर देशको नाम राखेको छ । सुदूरपश्चिमको नाम राखेको छ । हामी सबैको नाम राखेको छ । आत्मैदेखि खुशी छौं । अबको ओलम्पिकमा राम्रो होऔं हामी सबैको आर्शिवाद छ ।’
सुरुमा स्कुलबाट राष्ट्रपति रनिङ सिल्ड खेल्दै गोपीले प्रमाण पत्र मेडल ल्याएका ल्याउनुभएको थियो । पछि स्कुलस्तरीय, जिल्लास्तरीय हुँदै क्षेत्रसम्म उहाँले लगातार एथलेटिक्समा स्वर्ण जित्नथाल्नुभयो ।
पहिलोपल्ट सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै अन्तर–विद्यालय स्तरीय राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं जाँदा भने उहाँले हार चाख्नुप¥यो । आठ खेलाडी सहभागी भएको चार सय मिटर तर्फको प्रतिस्पर्धामा उहाँ पुछारमा रहनुभयो ।
दौड्नैकै लागि एपिएफ
गोपीले हार्नुको पीडा पहिलोपल्ट अनुभूति गर्नुभयो । त्यही हारबाट पाठ सिक्दै उहाँले थप परिश्रम गर्न थाल्नुभयो । अर्कोपटक काठमाडौं जादा उहाँको प्रदर्शन सुध्रिएको थियो । प्रतियोगितामा राम्रो प्रदर्शन पुलिस, आर्मी र एपिएफका खेलाडीले गरेका थिए । त्यो देखेपछि गोपीलाई लाग्यो, राम्रो प्रदर्शनका लागि राम्रै तयारी, सन्तुलित आहार र पर्याप्त प्रशिक्षण चाहिन्छ ।
सोहीकारण ०६६ सालमा उहाँ सशस्त्र प्रहरी बल (एपिएफ) मा भर्ना हुनुभयो । अत्तरियास्थित वैद्यनाथ बाहिनीमा तालिम लिएर केही समयपछि उहाँ ड्युटीका लागि खप्तड गुल्म, अछाममा खटिनुभयो ।
गोपीको दौडप्रतिको रुचि बुझेर खप्तड युनिटले गोपीलाई छैटौँ राष्ट्रिय प्रतियोगिताको छनोट खेल्न कैलालीको अत्तरिया पठायो, त्यहाँ उहाँ प्रथम हुनुभयो । तर, छनोट यात्रा यसभन्दा अघि बढेन । त्यसपछि उहाँलाई राम्रो खेलाडी बन्न यहाँ होइन, काठमाडौंको एपिएफ क्लबमा बसेर नियमित प्रशिक्षण गर्नुपर्छ भन्ने लाग्यो ।
खप्तडबाट काठमाडौं आएर उहाँले सिसम पाँच एसटिएफ कार्यदल गणमा तालिम लिनुभयो । ‘स्पेसल टास्क फोर्स (एसटिएफ) निकै कठिन तालिम हो । यहाँ १८ केजी बालुवा बोकेर तीन घण्टा कुद्नुपर्छ । मलाई हरेक चुनौतीसँग लड्नसक्ने गरी आत्मविश्वासी बनाउन तालिमको ठूलो भूमिका रहृयो,’ गोपी भन्नुहुन्छ ।
पाँच हजार मिटर दौडमा एपीएफ क्लबको आन्तरिक प्रतिस्पर्धामा प्रथम भएपछि गोपीलाई एपिएफ क्लबमा आबद्ध हुने ढोका खुल्यो । एसटिएफ बटालियनका तत्कालीन गणपति नारायणदत्त पौडेल, एथलेटिक्स प्रशिक्षक सुनिल नरसिंह राणा र एपिएफ क्लबका तत्कालीन शाखा इन्चार्ज तत्कालीन डिएसपी माधव रेग्मीले उनलाई क्लबमा ल्याउन ठूलो योगदान गर्नुभएको थियो ।
एपिएफ क्लबमा आएको तीन महिनामै गोपी राष्ट्रिय टोलीमा छनोट हुन सफल हुनुभयो । तर, यसपछिको यात्रा कम चुनौतीपूर्ण थिएन । उहाँले दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाली खेलकुदमा पाँच हजार मिटरतर्फ प्रतिस्पर्धा गर्नुभयो । तर, प्रदर्शन राम्रो भएन । १२औं सागमा १० हजार मिटरमा प्रतिस्पर्धा गर्नुभयो, त्यहाँ पनि पदक जित्न सक्नुभएन । भारतमा साग खेलेर फर्किएको केही महिनामै उहाँ जन्डिस दोहोरिएर फेरि थला पर्नुभयो ।
नौ महिना प्रशिक्षण प्रभावित भयो । ०७२ फागुनमा बिरामी भएका गोपी ०७३ कात्तिकमा आएर बल्ल हल्का दौडनसक्ने हुनुभयो । सातौं राष्ट्रिय खेलकुदका लागि दुई महिना मात्रै प्रशिक्षण गरेका गोपी चन्द्रले प्रतियोगितामा १० हजार मिटर र पाँच हजार मिटर दौडमा स्वर्ण जित्नुभयो । आठौंमा पनि यी दुवै इभेन्टस्मा सफलता दोहो¥याउनुभयो ।
सागमा स्वर्ण
ग्त वर्ष मंसिरमा भएको १३औं सागमा उहाँले नेपालका लागि पाँच सय मिटर दौडमा स्वर्णपदक जित्नुभएको हो । राष्ट्रिय टोलीका प्रशिक्षक धनीराम चौधरी र छविलाल थापाले गोपीको चाहना बुझेरै उहाँलाई पाँच हजार मिटरमा प्रतिस्पर्धा गराउने निर्णय लिनुभएको थियो ।
दौडमा प्रतिस्पर्धी खेलाडीले सुरुदेखि नै डिस्ट्रक्टिभ गेम खेले, सबै खेलाडीको रणनीति अरूलाई थकाउनेमा केन्द्रित थियो । तर अन्तिम एक सय १० मिटर बाँकी छँदा आफ्नो भएभरको ताकत लगाएका गोपीले ३० मिटर बाँकी छँदा अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्नुभयो ।
‘जसरी पनि स्वर्ण जित्छु भन्ने थियो । भारतीयमात्र होईन जोसुकैले पनि मलाई रोक्न सक्ने अवस्था थिएन ।’ सपनाको फिनिस लाइन पूरा गरेपछि उहाँले भन्नुभएको थियो । ‘हामी पिछडिएको वर्गबाट माथि उठेर यहाँसम्म पुग्ला भन्ने कल्पना पनि गरेका थिएनौं । गोपीको सफलताले सपनामा देखेका चिजहरु पूरा हुन्छन् भन्ने लाग्न थालेको हामी सबै गाउँलेहरूलाई ।’ स्थानीय तथा गोपीका आफन्तसमेत रहेका हुकुम सिंह पार्कीले भन्नुभयो, ‘दाजु भाउजुले आधा पटे खाई नखाई मिहिनेत गर्नुभएको थियो । त्यसलाई गोपीले सार्थक बनायो । टोकियो ओलम्पिकमा पनि राम्रो गरोस् भन्ने शुभकामना दिन चाहन्छौं ।’
बैकुण्ठको कीर्तिमान भंग गर्ने लक्ष्य
अघिल्लो वर्ष सागमा स्वर्ण जित्नुभएका पार्कीको अबको लक्ष्य कीर्तिमानधारी वैकुण्ठ मानन्धरले म्याराथनमा बनाउनुभएको दुई घण्टा १५ मिनेटकोे कीर्तिमान भंग गर्नेछ । मानन्धरको यो कीर्तिमान हालसम्म दक्षिण एसियाली खेलकुदमा कसैले पनि तोड्न सकेका छैनन् ।
गोपीले गत शनिबार सम्पन्न नेपालगञ्ज म्याराथनको छैटौं संस्करणमा विजेता बनेसँगै टोकियो ओलम्पिकमा स्थान पक्का गर्नुभएको छ । सागमा छोराले दौड्दा टिभिमा हेर्न पाएकी उहाँकी आमा मनुले नेपालगञ्ज म्याराथनको नतिजा गोपीले फोन गरेपछि मात्रै थाहा पाउनुभयो । उहाँले ओलम्पिक यात्राको पनि आर्शिवाद दिनुभयो ।
‘हामीलाई गोपीले दौडिएपछि धेरै निको भएको छ । राम्रो दौड्नु । पुरस्कार जित्नु । हाम्रो आर्शिवाद छ । देउताको आर्शिवाद छ ।’ गोपीका आमाबुबा भजन र मनुले भन्नुभयो, ‘हामीलाई घरमा जसो भए पनि हातखुट्टा चलुञ्जेल खान लाउन पुगेकै छ । तिमी दौड्दा पदक आसोस । त्यसपछि तिम्रो बिहे होओस् । घरमा बुहारी आसोस् ।’




















