काठमाण्डौं:= नेकपा भित्र राजनीतिक रुपले आरोप प्रत्यारोप र तनावको श्रृखला चरम बनेको अवस्थामा फेरी नेकपाको एकता जोगाउन चीनले चासो दिएको छ ।
यस अघि पनि फुटको संघारमा पुगेको नेकपाको एकता जोगाउन चीनले सक्रिय भूमिका खेलेको थियो ।
चीनीया कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच सहकार्य रहदै आएको छ ।
आज सचिवालयको बैठक सम्ममा निकै गंभीर मोड देखा पर्ने संकेत देखिए पछि गएराति चीनीया राजदुत होउ यान्छीले डेढ घण्टा सम्म प्रधानमन्त्री ओलीसगँ भेटवार्ता गरेकी छन् । राति करीब साढे १० बजे सम्म भएको छलफलमा भएको कुराकानीको ठोस विषय सार्वजनिक नभए पनि राजदुतले नेकपाको विवादको विषयमा चासो राखेको बताईएको छ ।
अघिल्लो पटकको विवादमा पनि चीनले सक्रियता देखाएको थियो ।
यसैबीच, नेकपाको एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न आलोचनाका बीच पनि सक्रियता कायम राखेकी छन् । उनले मंगलबार प्रधानमन्त्री ओली र प्रण्डसगँ अलग अलग छलफल गरेकी छन् । उनले एकता कायम राख्न र मिलेर अघि बढ्न सुझाव दिएको स्रोतले बताएको छ ।
के के हुँदैछ अभ्यास ?
नेकपा विभाजन हुने खतरा बढे पछि प्रधानमन्त्री केपी शर्मा ओली संसदीय दलमा बहुमत पुर्याउन सक्रिय भएका छन् । प्रचण्ड र माधव पक्षबीच गठबन्धन हुने वित्तिकै पाटीका सबै संरचना र संसदीय दलमा समेत बहुमत उनीहरुकै पक्षमा हुने र लगभग सरकार पनि ढल्ने स्थिति देखिएकाले ओलीले संसदीय दलको पल्ला भारी बनाउन लागेका हुन् । उनले माधव कुमार नेपाललाई अर्को चुनाव पछि प्रधानमन्त्री बन्ने, पार्टी महाधिवेशन पछि अध्यक्ष बन्ने लगायतका अनेकौँ अफर गरे पनि नेपाल कन्भिन्स भएका छैनन् ।
त्यसै गरी वामदेव गौतमलाई पनि रोजेको मन्त्रालय सहित उपप्रधानमन्त्री हुन ओलीले अफर गरेका छन् तर गौतम पनि फकिईसकेका छैनन् । उनले ओलीले कार्यशैली सच्याउनु पर्ने भन्दै आएका छन् ।
पूर्व एमाले जति मिलाउने कोशिस सफल नभए पछि ओलीले पूर्व माओवादी समुहका मान्छे तान्ने सुरमा काम गरीरहेका छन् । उनले राम बहादुर थापा बादल, टोप बहादुर रायमाझी, हरिवोल गजुरेल, लेखराज भट्ट, मणि थापा लगायतकालाई लगातार भेटघाट र छलफल गरीरहेका छन् ।
यता, प्रचण्डले पनि पूर्व माओवादीलाई ओली खेमामा जान नदिने कोशिस भने गरीरहेका छन् ।
ओली नआए पनि सचिवालयको बैठक बस्ने र निर्णय गर्ने तयारी ?
कार्तिक २९ गते बल्ल तल्ल बसेको सचिवालयको बैठक पनि विवाद सुल्झाउने भन्दा थप्ने काम गर्यो । एक अर्कालाई बुझाएका आरोप पत्रहरु पछि प्रचण्डले बैठकमा पेश गरेको १९ बुदे राजनीतिक प्रतिवेदनले ओली पक्षलाई अझ चिढ्यायो । यो प्रतिवेदन फिर्ता लिनु पर्ने नभए छलफल बैठकको औचित्य नरहेको भन्ने सार्वजनिक रुपमै सो पक्षले टिप्पणी गरीरहेको छ ।
अर्कोतिर आज सचिवालयको बैठकमा ओली नआए पनि बैठक बस्ने र निर्णय गरेर जाने आन्तरीक तयारी प्रचण्ड नेपालले गरे पछि ओली पक्ष बैठक सार्न र प्रस्ताव फिर्ता लिन लगाउन लागि परेको छ । यस क्रममा महासचिव विष्णु पौडेलले खुमलटारमा प्रचण्डसगँ छलफल समेत गरे ।
यी सबै विवाद र घटनाक्रमको श्रृखलाले नेकपा पार्टी भित्र पार्टी, समुह भित्र समुहको स्थितिमा पुगेको देखिएको छ । अब के होला नेकपाको भविष्य विभिन्न अड्कलबाजीहरु काट्न शुरु भएको छ ।




















