नेपाली रजतपटकी पहिलो मुस्लिम नायिका सानिया।

नेपाली चलचित्र क्षेत्रमा पहिलो मुस्लिम नायिका हुनुहुन्छ सानिया खान । मुस्लिम समुदायमा महिलाहरूलाई निश्चित परिधिभित्र राख्ने गरिन्छ । यस्तो अवस्थामा पनि नेपाली चलचित्र क्षेत्रमा पाइला राखेर अगाडि बढिरहनुभएको छ सानिया ।

आफ्नो धर्म संस्कृतिलाई जगेर्ना गर्दै चलचित्र क्षेत्रमा स्थापित हुने उहाँको उद्देश्य छ । चलचित्र ‘कुइनेटो’बाट नेपाली रजतपटमा प्रवेश गर्नुभएकी सानीयाले केही म्युजिक भिडियोमा पनि अभिनय गर्नुभएको छ ।

कपिलवस्तु चन्द्रौटाकी सानियाले आफू चलचित्र क्षेत्रमा आउनलाई परिवारबाट समेत राम्रो साथ पाएको बताउनुभयो । सुरूमा अलिक गाह्रो भएको भए पनि विस्तारै परिवारले समेत साथ दिएको उहाँको भनाइ छ ।

अभिनय र नृत्यमा औपचारिक तालिम लिएपश्चात् चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएकी खानको पछिल्लो चलचित्र ‘डोली’ रहेको थियो । उहाँले चलचित्र ‘कुइनेटो’, ‘प्रेम काण्ड’ जस्ता चलचित्रमार्फत आफ्नो अभिनय कला पस्किनुभएको छ ।