इटहरी बजारको डिहवार (ग्रामथान) मा फोहोरको डंगुर, सम्बन्धित निकाय मौन।

[ सुनिल चौधरी ]


झुम्का:= इटहरी उपमहानगरपालिका वडा वडा नं. ६ स्थित इटहरी बजारको मुख्य चौक धरान रोड छेउमै रहेको साँस्कृतिक धरोहर डिहवार (ग्रामथान) मा फोहोरको डंगुर देखिएकोे छ । इटहरी बजार बस्नु भन्दा अगावै धार्मिक आस्थाले स्थापित बिच्छु धामि डिहवार थानमा बजारको फोहोर थुपार्ने, नालाको फोहोर लगेर राख्ने, दिसा पिसाब गर्ने, मागन्तेहरुको वास स्थान बन्न पुगेको हो।

सडक बिभागले धरान बिराटनगर रोड बिस्तार गर्दा चेपुवामा परेको डिहवार थानको घेराबेरा भत्किदा अब्यवस्थित बन्न पुगेको छ । सडक निर्माणका कारण र घेराबेरा नहुदा थारु सामुदायको ऐतिहासिक पहिचान दुराअवस्थामा पुगेको हो । धरान रोडको छेउमा १७ धुर जग्गा रहेको छ । सो डिहवार इटहरी वडा नं. ४ चौधरी टोलका स्थानिय थारु समुदाय मान्दै आएका छन् । डिहवारमा बर्षको दुइ पटक अखारी, नेमानी पुजा गर्दै आएका छन् । दशमी, तिहार लगायतका पर्वमा पनि दियो वाती दिने परम्परा रहिआएको छ । कार्तिक १ गतेबाट दशमी सुरु हुने र सोही दिन घटस्थापनाको दिन देखी साझवाती दिने रहेकोले यस अवस्थामा पुजाँपाठकालागी समस्या उत्पन्न हुने पुजाँ गर्न जिम्मेवारी लिएका सुशिला लेखीले बताइन् । लेखीको अनुसार ग्रामथान समितिलाई बारम्वार घचघच्याउदा पनि ध्यान नदिएको बताइन्।

धार्मिक आस्थाले केन्द्रित ग्रामथान संरक्षणमा समितिका प्रतिनिधिहरुले लाचारीपन देखाएका छन् । ग्रामथान संचालन तथा संरक्षणकालागी रहेको समितिले भने चासो पटकै दिएको छैन । ग्रामथानको समितिको अध्यक्षमा सुशिला चौधरी रहेकी छन् । चौधरी थारु महिला सभा केन्द्रिय सचिव पनि हुन् । यसैगरी उपाध्यक्षमा रोशन चौधरी, सचिवमा तेजनारायण चौधरी, कोषाध्यक्षमा सोनालाल चौधरी छन् । समितिका अध्यक्षले संरक्षणमा चासो नदिदा एक महिना अगाडी उपाध्यक्ष रोशन चौधरीको संयोजकत्वमा मर्मत सम्भार तथा घेरावेरा निर्माण समिति गठन गरेपनि गठन मात्र भएको छ काम भने नाम मात्रको पनि हुन सकेको छैन । इटहरी चौधरीटोलका त्यसता पनि ब्यक्तिहरुछन् जो इटहरी बजार बसाउन महत्वपुर्ण योगदान पुर्याएका छन् । उपमहानगरपालिकालाई जग्गा दान सम्म योगदान दिएका छन् । तर बजार बिस्तार हुदै उपमहानगरपालिका सम्म आइपुग्दा त्याहा थारु समुदाय र उनीहरुको धरोहरलाई स्थानिय सरकारले हेला गरिरहेको देखिन्छ । ग्रामथान अहिले संरक्षणको पर्खाइमा रहेको छ । स्थानीय ग्रामथान समितिको लाचारी र सडक बिभागको बेहुदीले ऐतिहासिक धरोहर दुराअवस्थामा पुगेको प्रष्ट देखिन्छ।

डिहवार संरक्षणमा प्रमुख जिम्मेवारी स्थानिय टोलवासीहरुको रहेपनि धरोहरलाई संरक्षण गर्ने स्थानियतहको पनि जिम्मेवारी उतिकै रहेको छ । सबैले जिम्मेवारी महसुस गर्नु पर्ने अवस्था रहेको छ । ग्रामथान धार्मिक तथा पौराणिक आस्थाका पहिचान हुन् । थारु समुदायको मात्र हैनन् सबै जातजातिको प्रतिनिधित्व गर्ने धार्मिक सम्पति हो । यसलाई संरक्षण गर्न सक्यौ भने ऐतिहासिक र पौराणिक्ताले नेपालमा धार्मिक पर्यटनको नेतृत्वनै गर्छ । बिशेष स्थानियहरु ग्रामथान प्रति जागरुक हुनुपर्ने अवस्था छ । सडक र इटहरी बजार बस्नु भन्दा अगावै स्थापित भएको आदिवासीहरुको ग्रामथानलाई बिकलप बिना मास्न सडक बिभागको पनि अधिकार छैन । बिकासको नाममा धरोहर बिनास गर्नु हित बिपरितनै रहेकोले समयमै ध्यान जान आवश्यक छ।