क्वालालम्पुर ( मलेसिया ):= मलेसिया नेपाली सुरक्षा गार्ड ( सेक्युरिटी गार्ड ) प्रति असन्तुष्ट देखिएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम. शरभनानले सुरक्षा गार्डको रुपमा मलेसिया आइपुग्ने मध्ये कतिपय नेपाली तालिम प्राप्त समेत नहुने गरेको बताएका छन्।
“उनीहरु गोर्खा होइनन् र सुरक्षा गार्डको काममा आउने मध्ये कतिपय उपयुक्त समेत हुँदैनन्” मन्त्री शरभनानले भने “उनीहरु सामान्य नेपाली श्रमिक हुन् जसले सुरक्षा गार्डको रुपमा गर्नुपर्ने काम गर्न सक्दैनन् ।” मलेसियाको अनलाइन द-स्टारका अनुसार मानव संशाधन मन्त्रीले मलेसियालाई व्यवसायीक सुरक्षा गार्डको आवश्यकता रहेको भन्दै नेपालबाट त्यो अपेक्षा अनुसारका सुरक्षा गार्डहरु प्राप्त नभएको बताएका छन्।

मन्त्री शरभनानले बैंक तथा गहना पसलहरुले गार्डको काममा लिने गरेका स्थानीय व्यक्तिहरु अझ अनुपयुक्त हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले मलेसियाको सुरक्षा क्षेत्रमा सुधार चाहेको भन्दै सोही अनुरुपका श्रमिक हुन आवश्यक रहेको बताएका छन् । मन्त्री शरभनानले मलेसियामा ४० बर्षमा अवकास पाउने सुरक्षाकर्मीहरुलाई सुरक्षा गार्डको रुपमा प्रयोग गर्न सके यसले सुरक्षा व्यवस्था बलियो हुने भन्दै यस विषयमा रक्षा मन्त्रालयसँग कुराकानी गर्ने समेत बताएको समाचारमा जनाइएको छ । यसले विदेशी श्रमिकप्रतिको निर्भरता कम हुने र सुरक्षा व्यवस्था पनि बलियो हुने उनको भनाई छ।
रोजगारदाताहरुलाई पनि विदेशी श्रमिक कटौति गर्दै स्थानीय व्यक्तिलाई नै रोजगारीमा आकर्षित गर्ने खालको तलव सुविधा उपलव्ध गराउन पनि उनले आग्रह गरे । यसले व्यवसायीकता अभिवृद्धि हुने र सुरक्षा मजबुत हुने उनको तर्क थियो।
मलेसियामा हाल नेपालीलाई मात्र सुरक्षा गार्डको रुपमा लिने गरिएको छ । यसअगाडी पनि मलेसियाले तालिम समेत राम्रो नदिई श्रमिक पठाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । नेपालीको विकल्पका रुपमा श्रीलंकाबाट समेत सुरक्षा गार्डका रुपमा श्रमिक भित्रियाउने प्रयत्न यसअगाडी नै गरिसकेको मलेसियाले पुनः नेपाली सुरक्षा गार्डको दक्षतामा प्रश्न उठाएको हो।




















