दक्षिण कोरियाको अस्पतालमा दुई नेपाली शव अलपत्र

रोजगारको शिलशिलामा दक्षिण कोरियामा पुगेर अवैधानिकरुपमा बसोबास गरेका दुई नेपालीको उपचारको क्रममा मृत्यु  भएपछि शव अस्पतालमै अड्किएको छ ।

 लामो समयसम्म परिवारको सम्पर्कमा समेत नभएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका डम्बरबहादुर गर्बुजा र रघुगंगा गाउँपालिका–६ कोटगाउँका जसबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शब अस्पतालमा रहेको मोना दक्षिण कोरियाका अध्यक्ष सुनेश खत्री क्षेत्रीले जानकारी दिनुभयो । 

मृतक गर्बुजाको परिवारले शब नेपालमा पठाउन अनुरोध गरेपनि पुनको शव कोरियामै अन्तेष्टी गरिने छ । गर्बुजा र पुन कोरिया गएको दुईबर्षपछि परिवारको सम्पर्कमा थिएनन् । मृतक गर्बुजाको शव छनान युनिभर्सिटीको अस्पतालमा छ भने पुनको कोरियाको थेजन स्थित चुङनाम नेश्नल युनिभर्सिटी हास्पिटलमा रहेको छ । शव कोरियामै अन्त्येष्टी गर्न परिवारको स्वीकृतिका साथै वडाबाट नाता प्रमाणित सहितको कागजात चाहिने जनाइएको छ ।