सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ ।

४ भदौ, काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ ।

अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘हवाइ मार्गबाट तोकिएको मापदण्डअनुसार सीमित संख्यामा मात्रै मानिसहरु ल्याउने र उनीहरुलाई सात दिन अनिवार्य होटल क्वारेन्टिनमा राखेर कोरोना नरहेको पुष्टि भएपछि मात्र घर जान दिने निर्णय भएको छ ।’

यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ ।

यसअघि सोमबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान राखेको थियो । त्यो निर्णयका कारण दुबई गएको नेपाल एयरलाइन्सको विमान खाली नै फर्किएको थियो तर त्यही दिन टर्कीबाट र बिहीबार बंगलादेशबाट चार्टर उडान भएको छ ।

त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको स्रोतले बतायो । ‘१० वटा तोकिएका स्थल नाकाहरुबाट आउनेहरुले पनि सात दिनसम्म स्थानीय होटलमा अनिवार्य रुपमा बस्नैपर्छ र कोरोना परीक्षण गराउनैपर्छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘होटल खर्च आफैंले व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।’